नवौँ राष्ट्रिय खेलकूद आयोजना गर्न कोरोना सङ्क्रमण चुनौती
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले आगामी फागुन अन्तिम साता गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएको मितिमा आयोजना गर्न कोरोना सङ्क्रमण चुनौतीका रुपमा रहेको बताए छन।
पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समिति तथा जिल्ला खेलकूद विकास समिति कास्कीले आज साँझ पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा उनले आगामी मङ्सिर १५ सम्म कोरोना सङ्क्रमण कम भएर अवस्था सहज भएकामा प्रतियोगिता निर्धारित समयमै आयोजना हुने स्पष्ट पारे।
तीन महिनाका अवधिमा प्रतियोगिता तयारी, खेलाडी प्रशिक्षणलगायत काम सम्पन्न गर्न सकिने भएकाले निर्धारित समयमै प्रतियोगिता आयोजना हुनेमा आफूहरु आशावादी रहेको सदस्य सचिव सिलवालले बताए।
प्रतियोगिताका लागि पोखरामा एकदुई खेलका पूर्वाधारबाहेक अन्य सबै पूर्वाधार तयारी अवस्थामा रहेकाले समेत प्रतियोगिता सञ्चालनमा कठिन नपर्ने उनले उल्लेख गरे।
...









