सरकारले मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको निर्माण अघि बढाउने
राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि तीन अर्ब ५१ करोड विनियोजन गरेको छ।
आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, याङग्री खोलामा हेडवर्क र याङ्ग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि बढाइने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
त्यससँगै स्थानीयवासीले माग गरेको सडक निर्माणको प्रक्रिया अघि बढाइने समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए।
आयोजनाअन्तर्गत पहुँच सडक निर्माण भइरहेको छ। सडक सम्पन्न भएपछि मात्रै सुरुङ र हेडवर्कको ठेक्का लाग्ने उनले बताए।
उनले भने, “सडक नबनेसम्म सुन्दरीजलमा काम गर्न सकिने भएपनि याङ्ग्री वा लार्के खोलामा गर्न सकिँदैन।”
आयोजनाको पहिलो चरणअन्तर्गत अहिले मेलम्ची खोलामा ‘हेडवर्क’ निर्माण भइरहेको छ।
...









