चिनियाँ राष्ट्रपति सी जिनपिङ फिलिपिन्सको भ्रमणमा
फिलिपिन्सको भ्रमणका सिलसिलामा चिनियाँ राष्ट्रपति सी जिनपिङ मङ्गलबार मनिला पुगेका छन् । प्रशान्त क्षेत्रका राष्ट्रमाथि प्रभाव कायम राख्न प्रयत्नरत अमेरिका र चीनबीच सङ्घर्ष भइरहेका बेला भएको राष्ट्रपति सीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सन् २०१६ को चुनावबाट फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटर्टे निर्वाचित भएसँगै चीनलाई अप्रत्यासित साझेदार मित्रराष्ट्र प्राप्त भएको हो । डुटर्टेले राष्ट्रपतिमा विजय हासिल गरेपछि फिलिपिन्सको अमेरिकासँगको शताब्दीऔंदेखिको सम्बन्धमा कटुता आएको थियो । फिलिपिन्सले पछिल्ला वर्षहरुमा अमेरिकाको सट्टा बढी मात्रामा चीनबाट लगानी भित्र्याउनुका साथै व्यापारिक साझेदारी निर्माण गरिरहेको छ ।
विगत १३ वर्षमा पहिलोपटक हुन लागेको चिनियाँ राष्ट्रपतिको भ्रमणका अवसरमा बेइजिङले प्रतिज्ञा गरेबमोजिमका ठूला पूर्वाधार परियोजनामा लगानीसम्बन्धी सम्झौता हुने मनिलाले जनाएको छ ।...
