असोज ७ काठमाडौं । भारतको मुम्बईमा मंगलबार रातिदेखि भएको लगातारको भारी वर्षाका कारण मुम्बईका कैयौँ ठाउँ जलमग्न भएका छन्। सडकहरुमा पानी भरिएपछि यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ। वर्षाका कारण केही स्थानमा रेल सेवा पनि प्रभावित भएको छ।
बृहन्मुम्बई महानगरपालिका (बीएमसी) ले शहरका कैयौँ स्थानमा पानी जमेपछि आपतकालिन सेवा बाहेक सबै निजी तथा सरकारी कार्यालय बन्द गर्न निर्देशन दिएको छ। साथै अत्यावश्यक काम विना घर बाहिर ननिस्कन पनि सर्वसाधारणलाई अपिल गरिएको छ।
यस्तै मुम्बईको नायर अस्पताल भारी वर्षाका कारण डुबानमा परेको छ। यो अस्पताल मुम्बईको एक कोभिड–१९ अस्पताल हो।
महाराष्ट्रमा मुम्बईको गोरेगाँव क्षेत्रमा लगातार भारी वर्षा भएको थियो। जसका कारण रेलका पटरीमा पानी भरिएको छ। जसका कारण रेल सेवा प्रभावित भएको छ।
कैयौ स्थानमा सवारीसाधन बीच बाटोमै फसेका छन्। गोरेगाँव, सायन, चेम्बुर कुर्ला, किंग सर्कल, अंधेरी इष्ट, सान्तक्रुज लगायतका स्थान जलमग्न भएका छन्। बुधबार पनि मुम्बईमा लगातार वर्षा भइरहेको छ।
