असाेज ५ काठमाडाैं ।एटीएमबाट पैसा ननिस्किएको भन्दै एटीएम बूथमा तोडफोड गर्ने १ जनलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३५ वर्षीय पवन बञ्जारा छन् ।
प्रहरीका अनुसार बञ्जराले मध्यपुर ठिमी नगरपालिका–३ स्थित नेपाल इन्भेस्टमेन्ट बैंकको एटीएमबाट पैसा ननिस्किएको भन्दै एटीएम बुथमा लात्ताले हानेर तोडफोड गर्न खोजेका थिए ।
आफूमाथि अभद्र व्यवहार भएपछि बैंकका सुरक्षा गार्डले तत्काल प्रहरीलाई खबर गरेका थिए ।बैंकका सुरक्षा गार्डको सूचना पछि पुगेका प्रहरीमाथि पनि गालीचलौच गरेपछि बञ्जारालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
पक्राउ परेका बञ्जारामाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
