असोज ३ काठमाडौँ ।सरकारले यस वर्षको संविधान दिवसको दिन वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । हजारौं नेपालीको आँखाको ज्योती फर्काएका डा. रुइत तिलगंगा आँखा अस्पतालका निर्देशक हुन् । उनी सन् २००६ मा रोमन म्यागासेसे पुरस्कारबाटसमेत सम्मानित भएका थिए ।
पूर्वी पहाडी जिल्ला ताप्लेजुङको ओलाङचुङगोलामा जन्मिएका डा. रूइतलाई ‘दृश्यका देवता’ (गड अफ साइट) उपमा दिने गरिएको छ । राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पुर्याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्दै आएको छ ।
यस वर्ष सरकारले ५९४ जनाको नामावली सम्मानित हुनेहरुको सूचीमा राखेको छ । गृहमन्त्रालयले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी, ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण हुने छ ।
