pradesh no.1

विराटनगर, मंसिर २० ।
सन् २०१८ को ११ महिनामा प्रदेश नं १ मा ५४ जनाको हत्या भएको देखिएको छ ।

इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा परेर ५४ जनाले ज्यान गुमाएको उल्लेख गरिएको छ ।

हत्या हुनेहरूमा २० जना महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६ जना पुरुष छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या गरिएको थियो ।

यो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ जना सहित ७५० जना पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० जना र बलात्कार प्रयासबाट ९९ जना पीडित भएका थिए ।

यसैगरी घरेलु हिंसामा १४१ जना, कुटपिटबाट घाइते ६६ जना, बहुविवाहबाट ४२ जना, बालविवाहबाट ३ जना , मानव बेचविखनबाट १२ जना, अपहरणबाट १० जना, जातीय विभेदबाट ४ जना पीडित भएका थिए । गाली बेइज्जतीबाट ७ जना, हत्या प्रयासबाट ९ जना, गिरफ्तारीबाट ३७ जना, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारबाट ६ जना , अप्राकृतिक मैथुनबाट २ जना पीडित भएका थिए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार जनताका आधारभूत अधिकार सुरक्षित गर्न लागिपर्ने जनाए ।

प्रदेशसभा सदस्य यशोधा अधिकारीले हत्या, हिंसा, बलात्कार, घरेलु हिंसाजस्ता घटना न्यूनीकरण गर्न आवश्यक पर्ने कानून बनाएर कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक रहेको बताइन् । (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here