रौतहटको हनुमान मन्दिरका पुजारीको हत्या अभियोगमा २ जना पक्राउ परेका छन् । प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले २ जनालाई रौतहटको बौधीमाई नगरपालिका-७ वडकी बंकुलबाट बुधबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा देवाही गोनाही नगरपालिका- १ कुरुनियाका ३६ वर्षीय नरेस भन्ने राम नारस राउत पटेल र सोहो स्थानका २८ वर्षीय बालकुमार पटेल रहेका छन् । ३ भदौको साँझ खाना खाइरहेका बेला पुजारी श्रीराम साहको गोली हानी हत्या भएको थियो । प्रहरीको अनुसन्धानका क्रममा रामनरेसले पुजारीलाई गोली हानेको स्वीकार गरेका छन् ।
रामनरेसको वुवाले पुजारीसँग रकम सापटी लिएको र उक्त रकम फिर्ता नगर्दा दुवैबीच विवाद हुने गरेको र गाउँमा पनि विभिन्न विषयमा पुजारीसँग विवाद हुने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको बारेमा थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
