बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

निजी स्कुलहरुले साउन १ गतेदेखि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने

काठमाडौँ– निजी स्कुलहरुले साउन १ गतेदेखि वैकल्पिक सिकाइ बन्द गर्दै शिक्षकहरुलाई बेतलबी बिदामा राख्ने भएका छन्।

निजी स्कुल सञ्चालकहरुको छाता संस्था प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त बैठक गरेर साउन १ गतेदेखि नै लागु हुनेगरि शिक्षक तथा कर्मचारीलाई बेतलबी बिदा दिँदै अनलाइन कक्षा बन्द गर्ने निर्णय गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफूहरुले उठाएको माग सम्बोधन नभएको भन्दै निजी स्कुलले अनलाइन, रेडियो र टेलिभिजनबाट भइरहेको पठनपाठन बन्द गर्न निर्णयमा पुगेका हुन्।

प्याब्सन र एनप्याब्सनले साउन १ गतेदेखि विद्यालय खोल्न पाउनुपर्ने, विद्यार्थी भर्ना गर्न पाउनुपर्ने, कोरोनाका कारण समस्यामा परेका स्कुललाई ऋण दिनुपर्ने, अनलाइन माध्यमबाट भइरहेको पढाइलाई औपचारिकता दिएर शुल्क लिन पाउनुपर्नेलगायतका माग राखेका थिए।

मागबारे सरकारले कुनै सम्बोधन नगरेपछि प्याब्सन र एनप्याब्सन स्कुल बन्द गर्ने निष्कर्षमा पुगेको प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगाना बताए। प्याब्सन र एनप्याब्सनले असार १४ गते शिक्षामन्त्री गिरीराज मणि पोखरेललाई मागपत्र बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *