बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपालमा कार्यरत विदेशीलाई आउन स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने सीसीएमसीको निर्णय

काठमाडौं- कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले नेपालमा लगानी गरेका लगानीकर्ता वा तिनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका व्यवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय गरेको छ।

सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले उक्त निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिएका छन्।

यसका साथै  प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ।

बैठकपछि उनले भने, ‘प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेश गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको छ।’

यस्तै जुलाई १२ तारिखसम्म उद्दारका उडानहरु भइराखेकोमा एक हप्ता सम्मको उडानका तालिकाहरु स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर प्रकाशन गर्ने निर्णय भएको सचिव गुरागाईंले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *