आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने भारतको दावी

भारतले लिपुलेकमा खनिएको सडक भारतीय भूमि भित्रै पर्ने दावी गरेको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले मिडियाले उठाएका प्रश्नको जवाफ दिँदै सडक उत्ताराखण्डको पिथौरागढ जिल्लाभित्र पर्ने र उक्त सडक भारतीय भूमि भित्रै रहेको बताएका हुन्।

भारतीय रक्षा मन्त्री राजनाथ सिंहले शुक्रबार चीनको मानसरोवर जोड्ने गरी नेपाली भूभाग हुँदै जाने बाटोको उद्घाटन गरेका थिए। उक्त बाटो नेपालको कालापानी र लिपुलेक क्षेत्र हुँदै निर्माण गरिएको छ। बाटोको उद्घाटन भएको समाचार आए लगत्तै शनिबार नेपाल सरकारले उक्त कदमलाई खेदजनक भनेको छ।

सीमा विवाद हल गर्न परराष्ट्र सचिव स्तरीय संयन्त्रमा कुराकानी गर्न नेपालले दुई पटक गरेको प्रस्तावमा भारतले वेवास्ता गरेको थियो। तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले सचिव स्तरीय वार्ता हुन सक्ने उल्लेख गरेका छन्।

उनले भारत कुटनैतिक वार्ताबाटै सीमा विवाद हल गर्न तयार रहेको बताएका छन्। भारतले कोरोना भाइरसको चुनौती सकिए लगत्तै दुई पक्षबीच वार्ताको मिति टुङ्गो लाग्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *