बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

कम्पनीसँग असम्बन्धित व्यक्तिको नाउँमा प्यान दर्ता गरेर कारोबार गर्नेहरु भेटिन थाले,सावधानी अपनाउन राजश्व विभागको आग्रह

बजारमा मजदुर वा कम्पनीसँग असम्बन्धित व्यक्तिको नाउँमा प्यान दर्ता गरेर कारोबार गर्नेहरु भेटिन थालेका छन् । यस्तो कारोबार भेटिएपछि आन्तरिक राजस्व विभागले गुणस्तरीय दर्ता (Quality Registration) मा जोड दिँदै सचेत हुन आग्रह गरेको छ ।

कतिपय व्यवसायीले रोजगारी खोज्दै आउने मजदुरहरुलाई प्रयोग गरी तिनैको नाउँमा प्यान दर्ता गर्ने र कर दायित्वबाट पन्छिने कोशिस गरेका उदाहरण भेटिएका हुन् । यसप्रति सजग गराउँदै विभागले गुणस्तरीय दर्ताको अवधारणा अघि सारेको जनाएको छ । ‘कारोबारमा संलग्न व्यक्ति र निकाय दर्ता नभई कामदार वा अन्य असम्बन्धित व्यक्तिका नाममा कारोबार दर्ता गरी करको दायित्व अन्य व्यक्तिलाई सिर्जना गर्ने प्रवृत्ति देखिने गरेको’ विभागद्धारा जारी सूचनामा उल्लेख छ ।

विभागले ‘वास्तविक रुपमा कारोबारमा संलग्न व्यक्तिका नाममा मात्र फर्म वा कम्पनी दर्ता भई आफ्नो कारोबारको सूनिश्चितता गरी दर्ता गर्न, गराउन’ आग्रह गरेको छ । साथै गुणस्तरीय दर्तामा ध्यान दिर्इ वास्तविक करदाता एकिन गरी दर्ता  गर्ने व्यवस्था मिलाउन आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरुलाई निर्देशन समेत दिईएको छ ।

रोजगारीको सिलसिलामा जुनसुकै किसिमको सम्झौता गर्ने प्रवृत्तिले करको दीर्घकालीन दायित्व नै आफुमाथि आइलाग्न सक्दछ । यसतर्फ समयमै सचेत हुनु जरुरी छ । कतिपय करदाताले अज्ञानतावश रोजगारी दिने कम्पनीको प्यान दर्ता आफ्नो नाउँमा गरेका कारण अनेक झन्झट बेहोर्नु परिरहेको छ । विभागले गलत नियतका साथ मजदूरलाई प्रलोभनमा पारी फर्म दर्ता गर्ने केही व्यवसायीविरुद्ध मुद्दासमेत दर्ता गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *