२६ वैशाख, काठमाडौं । चुच्चेपाटी-टुसाल-बौद्ध-जोरपाटी सडकखण्ड छिटो पिच गर्न माग गर्दै व्यापारी र स्थानीय बासिन्दाले स्वतस्फूर्तरुपमा अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । बिहीबारबाट सुरु गरिएको दबावमूलक विरोध कार्यक्रम सडक पिच नभएसम्म जारी राख्ने उनीहरुले बताएका छन् । समयमा काम सम्पन्न नगर्ने ठेकदारलाई कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

बौद्ध व्यापार संघको आयोजनामा बिहीबार बिहान व्यापारी र स्थानीयबासी बौद्ध स्तुपा अगाडि विरोध प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनमा उत्रिएकाहरुले ‘कालोपत्रे छिटो गर’, ढिलासुस्ती गर्ने ठेकदारलाई कारबाही गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । उनीहरुले ह्युमपाइप, पोल तेर्स्याएर र सडकको बीच भागमै बसेर गाडीहरुको आवत-जावत रोकेका थिए । लामो समयदेखि सडक मर्मत नहुँदा विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध स्तुपा अगाडिको सडकमा हिँडडुल गर्न समस्या छ । सो सडकमा घाम लागेका बेला धुलो उड्ने र पानी परेका बेला हिलो हुने गरेको छ ।

यसबाट सडक किनारका बासिन्दा र व्यापारीहरु सबैभन्दा बढी प्रभावित भएका छन् । सडक जीर्ण भएकाले मानव स्वास्थ्यमा असर परेको र व्यापार व्यवसाय पनि संकटमा परेको गुनासो उनीहरुको छ । सडकखण्ड निर्माणको जिम्मा हिराचन एन्ड कम्पनीले करिब चार वर्षअघि १ अर्ब ४५ करोड रुपैयाँमा पाएको हो । सम्झौताअनुसार यो सडक २०७४ को माघ महिनामै यो सडक बनिसक्नुपर्ने थियो । तर, अहिलेसम्म सडक निर्माण कार्य पूरा नगरेर अलपत्र छाडिएको छ । सरकारले भने ठेकेदार कम्पनीको म्याद थपेको थप्यै गरेको छ ।
फोटो :वाङ्गचे शेर्पा
