nepal-india

काठमाडौँ —चैत ८ ।

पाँचौँ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल आज (शुक्रबार) दिउँसो ३ बजे विराटनगरको सहिद रंगशालामा हुँदै छ । आयोजक नेपाल र यसअघिका सबै संस्करणको विजेता भारतको एउटै लक्ष्य उपाधि जित्नु नै हो । भारत प्रतियोगिताका सबै संस्करणमा अहिलेसम्मको अपराजित टोली हो । भारतले लगातार चार संस्करण जितिसकेको छ । भारतको प्रयास भनेको लगातार पाँचौँपटक उपाधि जित्नु हो । सुरुका ३ संस्करणमा उपविजेता बनेको नेपाल चौथोपटकको फाइनल आफ्नो पक्षमा
राख्ने योजनामा छ । नेपाल पाँच वर्षपछि फाइनलमा पुगेको हो ।

रेकर्ड तोड्ने अवसर
यसपटक नेपालसमक्ष उपाधि जित्ने अवसर छ । घरेलु मैदान र समर्थकको सहयोगमा घरेलु टोलीले भारतलाई कडा चुनौती मात्र दिने होइन, उपाधिसमेत खोस्ने तयारी गरेको नेपालका प्रमुख प्रशिक्षक हरि खड्काले बिहीबार आयोजित पत्रकार सम्मेलनमा दाबी गरेका छन् । ‘हामीसमक्ष भारतविरुद्धको रेकर्ड तोड्ने अवसर छ,’ प्रशिक्षक खड्काले भने, ‘यसपटक हामीलाई घरेलु मैदान र समर्थकको साथ छ ।’ नेपालले साफ च्याम्पियनसिपबाहेक भारतसँग २ पटक प्रतिस्पर्धा गरेको छ । म्यानमारमा भएको ओलम्पिक छनोटमा नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । यसैगरी नेपालले गत महिनामा भारतमै भएको हिरो गोल्डकपको फाइनलमा भारतलाई नै हराउँदै उपाधि जितेको थियो ।

मनोवैज्ञानिक रूपमा बलियो
नेपालका प्रशिक्षक खड्काले खेलाडीहरू मनोवैज्ञानिक रूपमै फाइनलका लागि तयार भएको बताएका छन् । ‘हाम्रा खेलाडी फाइनल खेल्न उत्साहित छन्,’ उनले भने, ‘उपाधि भिडन्तअघि नै खेलाडीहरू मनोवैज्ञानिक रूपमा बलिया भइसकेका छन् ।’ यता नेपालकी कप्तान निरु थापाले उपाधि जित्न आफूहरूले कडा मिहिनेत गरेको बताइन् । खड्काले नेपाली महिला टोली सम्हालेपछि भारतविरुद्ध २ खेल भएका छन्, जसमा नेपालले एकमा बराबरी तथा अर्कोमा जित निकालेको छ ।

मुख्य खेलाडीलाई रोक्ने
प्रशिक्षक खड्काले भारतका कम्तीमा चार मुख्य खेलाडीलाई मार्किङ गरी खेल्नुपर्ने बताए । ‘हामीले फाइनलमा भारतका कम्तीमा चार खेलाडीलाई मार्किङ गर्नुपर्छ,’ उनले भने, ‘यो योजना सफल भएमा हामी उपाधि जित्नेछौँ ।’ उनका अनुसार नेपालले आक्रामक रणनीति बनाएको छ । ‘हामी सुरुदेखि नै आक्रामक रूपमा प्रस्तुत हुन्छौँ,’ खड्काले भने, ‘तर, आक्रामक हुँदा डिफेन्समा पनि उत्तिकै ध्यान दिनुपर्छ, यसका कारण हामी सन्तुलित भएर प्रतिस्पर्धा गर्छौं ।’ नेपालकी कप्तान थापाले टिमवर्कको भावनामा प्रतिस्पर्धा गर्ने बताइन् ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here