काठमाडौँ —चैत ५ ।
नेपालको पहिलो महिला फ्रेन्चाइज क्रिकेट लिग ’एनसीएल वुमन्स ट्वेन्टी ट्वेन्टी क्रिकेट आगामी बैशाख ७ गतेदेखि हुने भएको छ ।
विराटनगरस्थित बैजनाथ क्रिकेट मैदानमा हुने प्रतियोगितामा चार टोलीबीच भिडन्त हुने भएको छ ।
राजधानीमा आयोजित पत्रकार सम्मेलनमा टोलीका मार्की खेलाडीसमेत घोषणा गरिएको छ ।
भैरहवा क्विन्सका लागि राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, विराटनगर रोअरिङ लायोनेसका लागि करुणा भण्डारी, धनगढी वन्डर वुमनका लागि सीता राना मगर र काठमाडौं सुपर च्याम्पियनका लागि नेरी थापा मार्की खेलाडी घोषित भएका छन् ।
प्रतियोगिताको लागि खेलाडी छनोट अक्सनबाट गरिने आयोजक एनसीएल स्पोर्टस प्रालिले जनाएको छ । खेलाडीलाई तीन श्रेणीमा वर्गिकरण गरेर अक्सन गरिनेछ ।
पछिल्लो दुई बर्षयता राष्ट्रिय टिममा स्थान बनाएका खेलाडीलाई पहिलो श्रेणीमा राखिएको छ ।
दुई बर्षयता टिम बाहिर रहेका खेलाडीलाई दोस्रो श्रेणीमा तथा क्षेत्रीय एवम् जिल्ला स्तरीय र क्लब स्तरका खेलाडीलाई तेस्रो श्रेणीमा समावेश गरिएको छ ।
लिग विजेताले १० लाख तथा उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।
त्यसैगरी विधागत उत्कृष्ट र हरेक खेलका म्यान अफ द म्याचलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
(ईमेज खबर)