saff-womens-championship-2019-logo

विराटनगर — फागुन ३०।

दुई वर्षअघि फाइनल खेलेको बंगलादेशले बिहीबार कमजोर मानिएको भुटानविरुद्धको खेलमार्फत् पाँचौं साफ वुमेन्स च्याम्पियनसिपको यात्रा सुरु गर्दै छ ।

च्याम्पियनसिपको तेस्रो दिन सहिद मैदानमा हुने खेलमा बंगलादेशले सफलता हात पार्ने अनुमान गरिएको छ। सन् २०१० को पहिलो साफ महिला च्याम्पियनसिपमा बंगलादेशले भुटानलाई ९-० ले पराजित गरेको थियो। २०१२ को दोस्रो साफमा बंगलादेशले भुटानमाथि १-० को सफलता पाएको थियो। त्यसयता यी दुई टिम साफमा पहिलोपल्ट प्रतिस्पर्धा गर्न लागेका हुन्।

बंगलादेश चौथो साफ २०१६ को उपविजेता हो। भुटानले साफको इतिहासमा कुनैपनि खेल जितेको छैन। पहिलो साफ २०१० मा श्रीलंकाविरुद्ध १-१ को बराबरी गरेबाहेक बाँकी सबै खेल उसले हारेको छ।

घरेलु टिम नेपालले पहिलो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो। त्यसैले तीन देश सहभागि समूह ‘ए’को प्रतिस्पर्धामा बंगलादेशविरुद्ध हारेको अवस्थामा भुटान च्याम्पियनसिपबाटै बाहिरिनेछ। बराबरी नतिजा निस्किएको नेपाल र बंगलादेशबीच शनिबार हुने खेलले यो समूहबाट सेमिफाइनल पुग्ने अर्को टिमको टुंगो लगाउनेछ।

समूह ‘बी’मा बुधबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले माल्दिभ्सलाई ६—० ले पराजित गरेको थियो। भारत साफ महिला च्याम्पियनसिपमा अघिल्ला चारै संस्करणको विजेता हो।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here