venezuela politics blackout

काराकस — फागुन २८।

भेनेजुएलामा विद्युत् आपूर्ति सुचारु हुन नसकेपछि सरकारले विद्यालय तथा व्यवसाय बन्द गर्न आदेश दिएको छ । विपक्षी दलले विद्युत् आपूर्तिका कारण १७ जनाको ज्यान गएको जनाएको छ ।

भेनेजुएलामा खाद्यान्न संकटपछि लुटपाटमा संलग्नलाई पक्राउ गरी राजधानी काराकसको सडकमा सजाय दिँदै सुरक्षाकर्मी । तस्बिर : रोयटर्स

लगातार पाँचौँ दिनसम्म पनि विद्युत् आपूर्ति नभएपछि मानिस विरोधका लागि सडकमा उत्रेका छन् । देशका २३ मध्ये १४ राज्यमा प्रदर्शन जारी छ । विपक्षीहरूले मडुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी रहने बताएका छन् ।

देशका कतिपय स्थानमा लुटपाट मच्चिएको छ । सरकार पक्षधर मोटरसाइकल समूहहरूले अँध्यारोको फाइदा उठाउँदै पसलहरूमा लुटपाट गरेका बीबीसीले उल्लेख गरेको छ ।

विद्युत् आपूर्तिको कटौतीसँगै इन्टरनेट, मोबाइल फोन, एटीएम मेसिन, बतानुकुलित मेसिन, विद्युतीय कुकरलगायतका सामग्री चलाउन नपाएपछि मानिस समस्यामा परेका जनाइएको छ ।

कतिपय पसलमा खाद्यसामग्री भए पनि पसलेहरूले अमेरिकी डलर मात्र स्वीकार गर्छन् । अस्पतालका कपितय मेसिनहरू सञ्चालन हुन नसकेपछि बिरामीको उपचारमा समेत असर परेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो र उनलाई सत्ताबाट हटाउन प्रयासरत विपक्षीले पछिल्लो समस्याका लागि एकअर्कालाई दोष लगाएका छन् । देशका मुख्य जलविद्युत्गृहमा समस्या देखिएपछि गत बिहीबारदेखि देशव्यापी विद्युत् आपूर्ति बन्द भएको हो ।

तेलमा धनी भए पनि भेनेजुएला बिजुलीका लागि जलविद्युत् आयोजनामा आश्रित छ । तर दशकौंदेखिको बेवास्थाका कारण मुख्य विद्युत् गृह बिग्रेका छन् । भेनेजुएलामा संकट गहिरिँदै जाँदा ३३ लाखभन्दा बढी मानिसले खाना र उपचारको खोजीमा देश छाडिसकेका छन् ।

यसअघि विपक्षी नेता खुवान गुआइडोले राहत सामग्री बाँड्न गरेको प्रयास सेनाले असफल पारेको थियो । भेनेजुएलाको सेनाले राष्ट्रपति मडुरोलाई समर्थन गर्दै आएको छ ।आफूलाई अन्तरिम राष्ट्रपति घोषित गरेका गुआइडोलाई अमेरिकालगायतका ५० भन्दा बढी देशले समर्थन गरेका छन् । उनले निष्पक्ष निर्वाचन गराउन मडुरोले सत्ता छाड्नुपर्ने माग गर्दै आएका छन् ।

रूस, चीन लगायतका देश भने मडुरोको पक्षमा छन् । ती देशले अमेरिका तथा युरोपेली संघले आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप गरेको आरोप लगाउने गरेका छन् । मडुरोले देशमा जारी संकटका लागि अमेरिका जिम्मेवार रहेको बताउने गरेका छन् ।

(कान्तिपुर दैनिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here