काठमाडौं—फागुन २७।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै नसक्ने बताएका छन् । सोमबार राष्ट्रिय सुरक्षा परिषद सचिवालयको १८ औं वार्षिकाेत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं परिषदका अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पृथकतावादी समूह सानो भए पनि त्यो विशाक्त हुने भएकोले त्यसलाई नियन्त्रण गर्नु सरकारको दायित्व भएको स्पष्ट पारेका छन्। ‘पृथकतावाद सानो भए पनि त्यो घातक हुन्छ। त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो,’ उनले भने, ‘राष्ट्रिय अखण्डताका विषयमा जनमत संग्रह हुनै सक्दैन। यस विषयमा कसैले चिन्ता नगरे हुन्छ।’
प्रधानमन्त्री ओलीले पृथकतावादको अन्त्य हुँदा एकथरी मान्छे मुर्मुरिएको देखेर आफू आश्चर्यमा परेको बताए। ‘नेपालबाट पृथकतावादी गतिविधि निस्तेज हुँदा एकथरी मान्छेहरु पानी बिनाको माछा जस्तो भुटभुटिएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा आँच पुर्याउने कुरामा जनमत संग्रह गर्ने भन्ने सोच्न पनि नमिल्ने कुरा हो।’
प्रधानमन्त्री ओलीले विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने बताए। ‘देशको शान्ति सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैनन्,’ उनले भने, ‘कोही मृत संस्था जिवित गराउने सपना देख्छन्, कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन्। ती दुवै कुरालाई निस्तेज पारिन्छ।’
(कान्तिपुर दैनिक)