लन्डन । पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर नेइमार घाइते भएपछि ब्राजिलले मिल्टन कइन्समा मंगलबार राति क्यामरुन माथि १–० को जित निकाल्न सफल रहे पनि खुसी मनाउन सकेन ।
खेल सुरु भएको छैटौं मिनेटमै मांसपेशीमा चोट लागेर घाइते भएका नेइमारलाई तत्काल रिचार्लिसनबाट स्थानान्तरण गर्नुपरेको थियो । नेइमारलाई स्थानान्तरण गरेका फरवार्ड रिचार्लिसनले नै ब्राजिलका लागि विजयी गोल गरे । मध्यान्तर हुनै लाग्दा रिचार्लिसनले हेडबाट गरेको सोहि गोल ब्राजिलको जितका लागि पर्याप्त भयो ।
क्यामरुनमाथि एकतर्फी दबाब कायम गरे पनि ब्राजिलले थप गोल गर्न भने सकेन । दोस्रो हाफमा ग्याब्रिअल जिसस र आर्थरको प्रहार पोष्टमा लागेर फर्कियो ।
नेइमारको चोट गम्भीर नभए पनि ब्राजिली टिम डाक्टर रोडरिगो लास्मारले तत्काल त्यसको अवस्था भन्न नसकिने बताए । ‘नेइमारलाई अप्ठेरो भइरहेको छ । त्यो समस्या खासै गम्भीर नभए पनि वास्तविक अवस्था बुझ्न केही समय लाग्छ।’ उनले भने ।
फ्रान्स र उरुग्वेबीच भएको अर्को मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेइमारका पिएसजी सहयात्री किलियन एमबाप्पे पनि घाइते भएका छन् । फ्रान्सेली फरवार्ड एमबाप्पेको पाखुरामा चोट लागेको बताईएको छ । फ्रान्सेली च्याम्पियन पिएसजीले शनिबार आफ्नु घरेलु मैदानमा टाउलाउसलाई निम्त्याउँदैछ ।