Nepali women cricket team

काठमाडौं— फागुन १५।

आईसीसी महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटको अन्तिम खेलमा नेपाल विजयी भएको छ ।

थाईल्याण्डमा आज भएको खेलमा नेपालले कुवेतलाई ३० रनले पराजित गरेको हो ।

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ८६ रनमात्र बनाउन सक्यो । कुवेतलाई सस्तैमा समेट्न कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिइन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर ११६ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालका लागि बिन्दु रावलले अविजित रहँदै सर्वाधिक २८ रनको योगदान दिइन् । ४८ रन जोड्दा ५ विकेट गुमाइसकेको नेपालको सम्मानजनक योगफलमा बिन्दुले ४९ बलमा एक चौका प्रहार गरिन् ।

कप्तान रुबिना क्षेत्रीले १३ बलमा ३ चौकासहित २२ रन बनाईन् । यस्तै नेरी थापाले १९, काजल श्रेष्ठले १८ रन जोड्दा इन्दु बर्मा र रोमा थापाले समान ७/७ रन बनाए ।

नेपालकी ओपनर सिता राना मगर र सरिता मगर शून्य रनमा पेभेलियन फर्किए । कुवेतका मर्याम ओमर र प्रियादा मुरालीले समान २/२ विकेट लिए ।

(ईमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here