'maximum level' security for Trump-Kim summit

काराकस— फागुन १३।

उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती सहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

उनी सोमबार भियतनामको सीमावर्ती सहर दोङदाङ पुग्दैछन् ।

उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेलसेवा बन्द गरिएको छ ।

किम आउने रेलमार्ग तथा रेल स्टेसनमा विशेष सुरक्षा व्यवस्था गरिएको, ती क्षेत्रलाई सेनाले घेरा हालिरहेको छ ।

उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ताका लागि भियतनाम पुग्दैछन् ।

उत्तर कोरियाली नेता किम उत्तर कोरियादेखि नै रेलमार्गबाट भियतनाम पुग्दैछन् ।

दोङदाङबाट किमलाई सडकमार्गबाट करिब १७० किलोमिटर मोटरमा राखेर भियतनामको राजधानी हनोई ल्याइनेछ । हनोई यात्राकाक्रममा उक्त सडकखन्ड पूरै बन्द गरिनेछ ।

किम शनिबार नै रेल चढेर भियतनामतर्फ लागेका हुन् । उनी चीनको राजधानी बेइजिङ हुँदै रेलमा भियतनाम पुग्नेछन् ।

भियतनामका अधिकारीहरुले जनाएअनुसार उनी मंगलबार बिहानसम्ममा भियतनामको दोङदाङ सहरमा पुग्नेछन् ।

उनले साढे दुई दिनको यात्रा र करिब ४ हजार किलोमिटर यात्रा गरेर भियतनाम पुग्न लागेका हुन् । उक्त दोङदाङ सहर चीनसँगको सीमा क्षेत्रमा पर्दछ ।

त्यसैले पछिल्ला केही दिनयता यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था अपनाइएको अधिकारीहरुले बताएका छन् ।

उनी भियतनाम सरकारको विशेष सुरक्षासहितको सवारी–साधनमा अपराह्न २ बजे भियतनामको राजधानी हनोई पुग्ने कार्यक्रम रहेको छ ।

दोङदाङ सहरको रेलसेवा सर्वसाधारण नागरिकका लागि बन्द गरिएको दृश्य आफूले देखेको एएफपीका समाचारदाताले जनाएका छन् ।

उनले आफूले उक्त क्षेत्रमा रेलसेवा बन्द गरिएको र ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको देखेको बताएका छन् ।

साथै, उनले तर त्यो रेलसेवा कहिलेसम्मका लागि बन्द हुने भन्नेबारेमा सरकारी अधिकारीहरुले केही नभनेका र सम्भवतः मंगलबारसम्म बन्द हुनसक्ने पनि बताएका छन् ।

उत्तर कोरियाली नेता किम अमेरिकी राष्ट्रपति ट्रम्पसँगको दोस्रो चरणको उच्चस्तरीय वार्ताका लागि हनोई जान लागेका हुन् । उनीहरुबीच यो दोस्रोपटक भेटवार्ता हुन लागेको हो ।

हनोईमा यही फेब्रुअरी २७ र २८ मा भेटवार्ता हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प पनि मंगलबार नै हनोई पुग्ने कार्यक्रम रहेको छ ।

उनीहरुबीचको पहिलो बैठक गत वर्षको जुन १२ मा सिंगापुरमा भएको थियो । सिंगापुरपछिको यो निकै चर्चित भेटवार्ता हो ।

(रासस/एएफपी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here