बिहि, मंसिर ११, २०८३
Thu, November 26, 2026
Shadow

समीर भट्टसहित ‘१२ गाउँ २’ का कलाकारलाई धनगढीमा भव्य स्वागत तथा सम्मान

धनगढी । नेपाली चलचित्र क्षेत्रका एक्सन नायक तथा ‘१२ गाउँ २’ का नायक समीर भट्टसहित चलचित्रका कलाकारहरूलाई सुदूरपश्चिमको धनगढीमा भव्य स्वागत तथा सम्मान गरिएको छ।

सुदूरपश्चिम बुद्ध विहार, धनगढीमा आयोजित विशेष कार्यक्रममा नायक समीर भट्ट, अभिनेता अनुपविक्रम शाही, साहिल सिंह ठकुरी र पूर्णबहादुर गन्धर्वलगायत चलचित्रकर्मीहरूलाई दीप प्रज्वलनसहित स्वागत तथा सम्मान गरिएको हो।

२०८३ कात्तिक ११ गते ए.एस. उडान फिल्म प्रोडक्सन, धर्मोदय सभा, बुद्ध मन्दिर, सुदूरपश्चिम कला प्रतिष्ठान र सुदूरपश्चिम कलाकार सङ्घको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको सभापतित्व वरिष्ठ चलचित्रकर्मी, निर्माता, निर्देशक तथा अभिनेता अम्बिका प्रसाद आचार्यले गरेका थिए भने सञ्चालन गुनाकर पनेरुले गरेका थिए। कार्यक्रममा चलचित्र क्षेत्रका कलाकार, निर्माता, निर्देशक, सामाजिक व्यक्तित्व, व्यवसायी, सञ्चारकर्मी तथा स्थानीय कलाप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा ए.एस. उडान फिल्म प्रोडक्सनका निर्माता तथा निर्देशक, सुदूरपश्चिम कला प्रतिष्ठानका अध्यक्ष एवं सुदूरपश्चिम कलाकार सङ्घका प्रदेश अध्यक्ष आचार्यले अतिथिहरूलाई स्वागत गर्दै नेपाली चलचित्र क्षेत्रको विकास र कलाकारबीचको आपसी सम्बन्ध विस्तारमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

सुदूरपश्चिमका प्रथम नायकका रूपमा परिचित वरिष्ठ कलाकार आचार्यले स्थानीय कला, संस्कृति र प्रतिभालाई राष्ट्रियस्तरमा चिनाउने अभियानमा आफूहरू निरन्तर सक्रिय रहेको उल्लेख गरे। उनले नेपाली चलचित्र क्षेत्रका स्थापित कलाकार र मोफसलका कलाकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा आपसी सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विशेष अतिथि नायक समीर भट्टलाई समाजसेवी तथा बुद्ध मन्दिरका संस्थापक जितेन्द्रलाल तुलाधर र वरिष्ठ चलचित्रकर्मी आचार्यले मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए।

त्यसैगरी, अमेरिकाको मेरिल्यान्ड निवासी सुदूरपश्चिम समाजका सल्लाहकार भरतराज भट्ट विशेष अतिथिका रूपमा सहभागी थिए। अतिथि कलाकारहरू घनश्याम जोशी र राजकुमार जोशीको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यवसायी सरोज चौधरी, चौधरी तथा थारू समुदायको सांस्कृतिक प्रस्तुति ‘सलिमा पहुरा’का प्रमुख नृत्य संयोजक जी.बी. मुखिया, वरिष्ठ छायाकार अनिल चौधरीलगायत विभिन्न सङ्घसंस्थाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो।

सो अवसरमा आयोजित औपचारिक बैठकमा अतिथिहरूले माइन्युटमा हस्ताक्षरसमेत गरेका थिए। कार्यक्रममा सहभागी कलाकार तथा अतिथिहरूले नेपाली चलचित्र क्षेत्रको उन्नति, स्थानीय प्रतिभाको पहिचान र कला संस्कृतिको संरक्षणका लागि आपसी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

‘१२ गाउँ २’ चलचित्रका कलाकारहरूको धनगढी आगमन र सम्मान कार्यक्रमले सुदूरपश्चिमको कला तथा चलचित्र क्षेत्रलाई थप उत्साहित बनाएको आयोजकको विश्वास छ। यस्ता कार्यक्रमले नेपाली चलचित्रका स्थापित कलाकार र स्थानीय चलचित्रकर्मीबीच सम्बन्ध विस्तार गर्दै सुदूरपश्चिमको कला, संस्कृति र प्रतिभालाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *