काठमाडौं । ‘ट्रेवल फेशन कन्सर्न प्रा.लि.’को आयोजनामा सञ्चालित “लिटल आइडल नेपाल २०२५” को छैठौं संस्करण अन्तर्गत अभिभावक भेटघाट कार्यक्रम भदौ ८ गते, आइतबार, होटल तिब्बत इन्टरनेसनल, बौद्धमा सम्पन्न भएको छ ।
कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयका विद्यार्थीहरूको अभिभावकहरूको सक्रिय सहभागिता रह्यो । अभिभावकको उत्साहजनक सहभागिता र प्रोत्साहनका कारण बैठक सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।
यस वर्षको प्रतियोगितामा विद्यार्थीहरूलाई दुई समूहमा विभाजन गरिएको छ— कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई जुनियर समूह र कक्षा ६ देखि ८/९ सम्मका विद्यार्थीलाई सिनियर समूह मा राखिएको छ । अब आउने शनिबारदेखि नारायणटार, जोरपाटीस्थित ‘छिमेकी पार्टी प्यालेस’मा औपचारिक प्रशिक्षण सुरु हुने भएको छ ।
आयोजक / अध्यक्षको भनाइ
सन् २००१ मा स्थापना भएको *ट्रेवल फेशन कन्सर्न प्रा.लि.ले निरन्तर रुपमा प्रतिभावान बालबालिकालाई मञ्च प्रदान गर्दै आएको छ । संस्थाका अध्यक्ष शैलेन्द्र श्रेष्ठले कार्यक्रममा बोल्दै “लिटल आइडल नेपाल” बालबालिकाको कला, संस्कृति, आत्मविश्वास र प्रतिभा उजागर गर्ने साझा प्लेटफर्म भएको उल्लेख गर्दै अभिभावकहरूको सहयोगबिना यस्तो ठूलो अभियान सम्भव नहुने बताए । उनले यस संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र प्रेरणादायी बनाउन सबै पक्षप्रति आभार व्यक्त गरे ।
