काठमाडौं— २३, माघ ।
प्रदेश २ का मन्त्री–सचिव कुटाकुट प्रकरणको छानविन सकिएको छ । प्रतिवेदनमा प्रमुख सचिव दीपक सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको छ । सुवेदी, जनकपुर बाहिर रहेकाले प्रतिवेदनमा हस्ताक्षर हुन सकेको छैन ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रलायका सचिव विद्यानाथ झाबीच दुई साताअघि कुटाकुट भएको थियो । प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । ७ दिनको म्याद तोकिएको समितिले विविध कारण देखाउँदै घटनाको छानविन लम्ब्याएका थिए ।
‘छानविन सकिएको छ । प्रतिवेदन पनि तयार छ,’ समितिका संयोजक मन्त्री यादवले कान्तिपुरसँग भने,‘प्रमुख सचिवको हस्ताक्षर हुन बाँकी छ । एक/दुई दिनमै प्रतिवेदन मुख्यमन्त्रीजीलाई बुझाउने छु ।’ उनले भने प्रतिवेदनमा भएको कुरा सार्वजनिक गर्न मानेनन् । मुख्यमन्त्रीलाई प्रतिवेदन बुझाएपछि प्रदेश सरकारले सत्यतथ्य बाहिर ल्याउने उनको भनाइ छ ।
मन्त्री यादवले सप्तरीको मलेठ घटनाको प्रतिवेदन पनि तयारी भएको जानकारी गराए । ‘मलेठ घटनाको प्रतिवदेन तयारी अवस्थामा छ,’ उनले भने, ‘छानविन समितिमा सदस्यसचिव रहेका मुख्य न्यायधिवता कार्यालयका कर्मचारी सरुवा भएकाले प्रतिवेदनमा उनको हस्ताक्षर हुन सकेको छैन । हामी उनको हस्ताक्षर लिन प्रयासरत छौं ।’
(कान्तिपुर दैनिक)