bhuiyaa

काठमाडौं— २३, माघ ।

आर्थिक, शैक्षिक तथा सामाजिक रूपमा निकै पछाडि रहेको मुसहर समुदायले उम्लिरहेको दूधले नुहाएर आफ्ना कुलदेवता ‘भुइँया महराज’को पूजा गरेको छ । भुइँया (जमिन)सँग आफूहरूको विशेष सम्बन्ध रहेको भन्दै तराई मधेसको मुसहर समुदायले माघ महिनामा भुइँया महराजको पूजा गर्ने गरेको छ । भुइँया महाराज भन्दै उनीहरूले दिनाभद्रीलाई सम्झिने गरेका छन् ।

दिनाभ्रदी मिथिला मधेसको इतिहासमा वीर पुरुषका रूपमा स्थापित व्यक्ति हुन् । दिनाभद्र्री मुसहरको घरमा जन्मिएर पनि समाजमा रहेका विभिन्न विकृति तथा विसंगतिविरुद्ध लडेको नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले बताए ।

श्रमशोषक, अन्यायी, अत्याचारी कनक सिंह धामी तथा बेहुलीहरूको डोलीलाई जबर्जस्ती एक रात रोकी शारीरिक सम्बन्ध राख्ने अत्याचारी, सामन्ती जोरावार सिंहलगायत सामन्तीसँग लडेर मुसहर समुदायलाई गौरवान्वित बनाएकाले आफूहरूले भुइँया महराजको पूजा गर्दै आएको उनले बताए । ‘अप्पन संस्कृति अप्पन स्वाभिमान, तोडु विभेदके जन्जिर, देखु वीर पुर्खाके नजिर’ नाराका साथ प्रत्येक वर्ष १ माघमा भुइँया दिवस मनाउने निर्णय भएको उनले बताए ।

प्रदेश सरकारको प्रतिबद्धता
प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले मुसहर समुदायको संस्कृति संरक्षण र प्रर्वद्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । सर्लाहीको हरिपुर नगरपालिका–६ लक्ष्मीनियामा आयोजना गरिएको भुइँया पूजालाई सम्बोधन गर्दै मन्त्री यादवले भने, ‘हाम्रो लोकगाथामा दिनाभ्रदीको स्थान उच्च छ, उहाँले समाजका लागि दिएको योगदान इतिहासमा सधैँ सम्झिइनेछ ।’

मुसहर समुदायको कुलदेवता भुइँया महाराज (दिनाभद्री) को जन्मस्थललगायत मरौटी (मरेको स्थान), धरौटी (मृत शरीरलाई राखेको स्थान), जरौटी ( दाहसंस्कार गरेको ठाउँ) सप्तरीमा रहेको र सो स्थानको संरक्षण, विकासका आफ्नो मन्त्रालयले १ करोड रुपैयाँ खर्च गर्ने गरी योजना बनाएर पेस गरेको उनले जानकारी दिए ।

शक्तिहीनको सशक्तीकरण, मुसहर समुदायको समग्र उत्थान अभियान, नेपाल राष्ट्रिय मुसहर संघ तथा जय श्री सवरी माता मुसहर एकता युवा सेवा समाज नेपालको आयोजना रहेको कार्यक्रममा मुसहर समुदायको उत्थानमा सहयोग गरेको भन्दै ६२ वर्षीय रामकेवल माझी र ६५ वर्षीय रामस्वरूप माझी मुसहरलाई सम्मान गरिएको थियो ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here