एकदिवीय मान्यता पाएको एक वर्ष नबित्दै कीर्तिमानले भरिएको सिरिज

काठमाडौं— २३, माघ ।

क्रिकेट कप्तान पारस खड्काले युएई प्रस्थान गर्नुअघि भनेका थिए, ‘यसपटकको यात्रा स्मरणीय र ऐतिहासिक हुनेछ ।’ नेपालले युएईको भूमिमा ऐतिहासिक प्रदर्शन मात्र गरेन, दुवै हातमा लड्डु भनेझैँ एकदिवसीय र टी–२० सिरिज जितेर कीर्तिमान रच्यो । क्रिकेट संसारमा शक्तिशाली राष्ट्रहरूले पनि सिरिज जित्न वर्षाैं लगाएको इतिहास छ । तर, नेपालले एकदिवीय मान्यता पाएको एक वर्ष पनि नबित्दै अद्भूत सफलता प्राप्त गर्‍यो ।

कप्तान पारसका अनुसार अन्तर्राष्ट्रिय क्रिकेट क्षेत्रमा नेपालको यो सफलता एउटा कदम मात्र हो । योभन्दा अझ ठूलो सफलता हात पार्न बाँकी छ । ‘हामीले भर्खर सुरुवात मात्र गर्‍यौँ, हामीले अझै धेरै गर्न बाँकी छ,’ युएईविरुद्धको एकदिवसीय सिरिजपछि पारसले भनेका थिए । यसपटक धेरैलाई विश्वास नलाग्न सक्छ, युएईको भ्रमणमा युवा खेलाडीले अच्चमकै प्रदर्शन गरे । दुई ब्याट्सम्यानले त विश्व रेकर्ड नै बनाए, केही सिनियर खेलाडीले आफ्नो व्यक्तिगत प्रदर्शन सुधारे । प्रशिक्षक जगत टमाटाले सन्दीप जोरा, अभिनाश बोहरा, पवन सर्राफ र भीम सार्कीमाथि विश्वास गर्दै युएईविरुद्धको सिरिजमा समावेश गरेका थिए । भीमबाहेक सन्दीप, अभिनाश र पवनले आफूहरू राष्ट्रिय टोलीको लामो रेसको घोडा बन्न सक्ने प्रमाणित गरे । रोहितकुमार पौडेल र सन्दीप जोरा विश्व कीर्तिमान नै आफ्नो नाममा लेखाएर फर्र्किएका छन् ।

सोमपाल कामीले आफूलाई नेपालकै नम्बर एक युवा अलराउन्डरका रूपमा प्रस्तुत गरे । सोमपालले दुवै सिरिजमा ब्याटिङ र बलिङमा एकनासको योगदान दिए । यता, वर्तमान समयको टी–२० फ्रेन्चाइजका सदाबहार युवा स्टार लेग स्पिनर सन्दीप लामिछानेले आफ्नै शैलीमा नेपालको ऐतिहासिक सफलतामा योगदान दिए ।

एकदिवसीयमा रोहितको विश्वरेकर्ड
गत असारमा नेदरल्यान्डविरुद्ध रोहितले १६ वर्षको उमेरमै विश्वकै चौथो कान्छा खेलाडीका रूपमा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । घरेलु क्रिकेटकै विश्वासिला ब्याट्सम्यान रोहितले युएई भ्रमणमा आफ्नो स्थान पक्का पारे । दोस्रो खेलमा रोहित विश्व कीर्तिमानी प्रदर्शन गर्न सफल भए । आइसिसी एकेडेमी मैदानमा रोहितले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा तत्कालै आइसिसीले आधिकारिक रूपमा नेपालका रोहित अर्धशतक बनाउने विश्वकै सबैभन्दा कान्छो खेलाडी भएको जनायो । भारतीय मिडिया तथा विश्वका प्रमुख समाचार एजेन्सीहरूले रोहितलाई पछ्याए । विश्व क्रिकेटमा ब्याटिङमा छाप राखेका सचिन तेन्दुलकरको विश्वकीर्तिमान भंग गरेको भन्दै उनको चर्चा भयो । रोहितले १६ वर्ष २ सय १३ दिनमा अर्धशतक बनाएका थिए । रोहितले पाकिस्तानका पूर्वक्रिकेटर साहिद अफ्रिदीको पनि रेकर्ड तोडे । रोहितले एकदिवसीय सिरिजमा ८६.५८ को स्ट्राइकमा ७१ रन बनाए । टी–२० को एक खेलमा मात्र अवसर पाएका रोहितले चार रन मात्र बनाए ।

टी–२० मा जोराको पनि विश्वरेकर्ड
एकदिवसीयमा जस्तै टी–२० मा पनि सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी नेपाली नै भए । युएईविरुद्ध टी–२० सिरिजको पहिलो खेलमा सन्दीप जोराले डेब्यु गर्दै अर्धशतक बनाए । उनले डेब्यु खेलमै ४६ बलमा ३ चौका र १ छक्का हान्दै ५३ रनको इनिङ खेल्दा टी–२० फम्र्याटमा अर्धशतक बनाउने विश्वकै कान्छा खेलाडी भए ।
अर्धशतक प्रहार गर्दा सन्दीप १७ वर्ष १ सय ३ दिनका थिए । उनले क्यानडाका हिरल पटेलको नाममा रहेको रेकर्ड तोडेका थिए । यद्यपि, नेपाल पराजित भएको खेलमा उनी ४६ बलमा ३ चौका र १ छक्का प्रहार गर्न सफल भए । उनले युएईविरुद्ध तीनवटै टी–२० खेलमा सहभागी जनाउँदै १२८.१२ को स्ट्राइकमा ब्याटिङ गरे । सो सिरिजमा उनी नेपालबाट पहिलो तथा समग्रमा दोस्रो सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले ३ खेलमा ८२ रन बनाए । त्यस क्रममा सन्दीपले ४ छक्का प्रहार गरे ।

नेपालका लागि पहिलो शतक
राष्ट्रिय टोलीका सदाबहार खेलाडी हुन्, कप्तान पारस खड्का । आवश्यकताअनुसार उनी ब्याटिङ, बलिङ र उत्कृष्ट फिल्डिङ गरी नेपालको जितमा योगदान दिन्छन् । युएईविरुद्धको सिरिजमा पारसले ती सबै क्षेत्रमा अब्बल प्रदर्शन गरे । उनी नेपालका लागि एकदिवसीय शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । उनले युएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा १ सय १५ रनको शतकीय इनिङ खेले ।

करिअरकै चौथो र युएईविरुद्ध दोस्रो शतक हान्दा पारसले ऐतिहासिक रूपमा नेपाललाई एकदिवसीय सिरिज दिलाए । उनले आफ्नो इनिङमा १३ चौका र १ छक्का प्रहार गर्दा नेपालले सीमित ओभरमा अहिलेसम्मकै ठूलो लक्ष्य २ सय ५४ रन पार ग¥यो । उनी एकदिवसीय सिरिजकै धेरै रन बनाउने ब्याट्सम्यान हुन् । उनले ३ खेलमा ८८.६३ को स्ट्राइकमा १ सय ५६ रन जोडे । यस क्रममा उनले १९ चौका प्रहार गरे ।

पहिलो पाँच विकेट
युएईविरुद्धको दुवै सिरिजमा सोमपाल कामी खारिएका अलराउन्डरका रूपमा प्रस्तुत भए । उनी ब्याटिङ र बलिङ दुवैमा चम्किए । युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा सोमपालले कीर्तिमानी प्रदर्शन गरे । त्यही खेलमा रोहित अर्धशतक बनाउने विश्वकै कान्छो खेलाडी बन्दा सोमपाल एकदिवसीयमा नेपालका लागि पाँच विकेट लिने पहिलो बलर भए । उनले ३३ रन खर्चेर पाँच विकेट लिएका हुन् । सो प्रदर्शनले युएईको बलियो ब्याटिङ नै ध्वस्त भयो । त्यही प्रदर्शनले १–० ले पछि परेको अवस्थामा नेपाल सिरिजमा फर्कियो । बलिङमा मात्र सोमपालको जादु चलेन । ब्याटिङमा समेत उनी चम्कँदा विपक्षी बलर निराश बने । एकदिवसीय सिरिजमा उनी धेरै रन बनाउने नवौँ खेलाडी हुन् । सोमपालले ३ खेलमा एक नकआउट इनिङसहित ५८ रन जोडे । यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरे । टी–२० मा उनले १३५ को स्ट्राइकमा २७ रन बटुले ।

यू–१९ का प्रमुख खेलाडी अभिनाश बोहरा सिनियर टी–२० टोलीमा डेब्यु गरेको प्रतियोगितामै म्यान अफ द सिरिज घोषित भए । डेब्यु सिरिजका तीनै खेलमा अभिनाशले युएईका ब्याट्सम्यानलाई चल्न दिएनन् । नेपालले पाँच वर्षभित्र पहिलोपटक टी–२० सिरिजमा जित हासिल गर्दा उनी नायक भए । उनले ३ खेलमा ७२ रन खर्चंदै सर्वाधिक ६ विकेट लिए । घरेलु टी–२० लिगमा कसिलो बलिङ गरेका कारण उनी पहिलोपटक युएईविरुद्धको सिरिजमा परेका थिए ।

ब्रेक दिलाउने सन्दीप
युएईविरुद्धको सिरिजमा सन्दीप लामिछानेको प्रदर्शनको उति चर्चा भएन । तर, नेपालको हरेक खेलमा कप्तान पारसलाई आवश्यक ‘ब्रेक थ्रु’ दिलाउने सन्दीप नै प्रमुख अस्त्र रहे । अन्तर्राष्ट्रिय टी–२० फ्रेन्चाइजका अति नै व्यस्त क्रिकेटर सन्दीपले युएईविरुद्धको दोस्रो एकदिवसीयमा एकै ओभरमा ३ विकेट लिने रेकर्ड बनाए । उनले सो खेलमा एक मेडन पनि राखे । नेपालका लागि एकै ओभरमा धेरै विकेट लिने रेकर्ड उनको नाममा रह्यो । एकदिवसीय सिरिजमा सोमपालसँगै सन्दीप पनि सर्वाधिक विकेट लिने बलर हुन् । उनले ३ खेलमा ४.४६ को इकोनोमीमा ७ विकेट लिए । दोस्रो एकदिवसीयमा उनले २४ रन खर्चेर ४ विकेट हात पारेका थिए । टी–२० मा उनले ६.७० को इकोनोमीमा ५ विकेट लिए । एकदिवसीय ३ खेलमा उनले २९ रन जोडे ।

(नयाँ पत्रिका)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here