आइत, असार ३, २०८१
Sun, June 16, 2024
Shadow

होमस्टे, होटेल तथा रिसोर्ट सञ्चालकहरूलाई योग तथा पूर्वकर्म अभिमुखीकरण कार्यक्रम

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौंले होमस्टे, होटेल तथा रिसोर्टका सञ्चालकहरूका लागि योग तथा पूर्वकर्म सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । आयुर्वेद तथा योगको माध्यमबाट पर्यटकलाई चिकित्सा सेवा प्रदान गरी चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन गर्ने उदेश्यका साथ चन्द्रागिरि नगरपालिकास्थित मातातिर्थमा कार्यक्रम गरिएको हो ।

आयुर्वेदको माध्यमबाट पर्यटन क्षेत्रलाई टेवा पुर्‍याउनको लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले जनाएको छ ।  आयुर्वेदका औषधिहरूले मालिस, बाफले सेक्ने आदि विधिहरू रोगी व्यक्तिका लागि मात्र नभई तनाव व्यवस्थापन तथा स्वास्थ्य प्रवर्द्धन हेतु समेत प्रभावकारी रहेको हुनाले पर्यटकहरूका लागि आकर्षक रहेको छ ।

पूर्वीय दर्शनमा वर्णन गरिएको योगका विभिन्न विधिहरू तर्फ समेत पर्यटकहरूको आकर्षण बढेको र उक्त सेवाहरू आफ्ना होमस्टे, होटेल तथा रिसोर्टहरुमा लागू गरिएको खण्डमा पर्यटकहरूको नेपाल बसाई लम्ब्याउन सकिने भएकाले यसतर्फ समेत ध्यान पुर्‍याउन आवश्यक रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको बुझाई छ ।

अभिमुखीकरणबाट लामो पदयात्रा गर्ने पर्यटकहरूका लागि सोही स्थानका होमस्टे, होटेल तथा रिसोर्टहरुमा आयुर्वेदिक मालिस सेवा प्रदान गर्न सकिने अपेक्षा गरिएको छ । यसबाट चिकित्सा पर्यटनको विकास र प्रवर्द्धन भएको हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *