nekapa baithak

काठमाडौं— २१, माघ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भेनेजुएलाबारे आफ्नो अडान दोहोर्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या आए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने धारणा दाहोर्याएको हो ।

बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशीलको सिद्धान्तहरुप्रति सदा प्रतिवद्ध रहिआएको बताए । हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्नुपर्ने भन्दै उनले कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक, शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्छ भन्ने मान्यता नेकपाको रहेको बताए ।

सचिवालय बैठकले सांगठनिक एकीकरणका लागि बनेको कार्यदललाई भोलि नै प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । अहिलेसम्मको कार्यप्रगतिको विवरण सहित प्रतिवेदन बुझाउन सचिवालयलाई निर्देशन दिएको हो ।

कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अघिल्लो महिना बसेको पार्टीको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । १० दिनमा प्रतिवेदन बुझाउन भनिए पनि कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन । बैठकमा सरकारको कामकारबाहीबारे पनि छलफल भएको थियो ।

(इमेज खबर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here