प्रमोद भट्टराई ‘प्रतीक’ द्वारा रचना गरिएका आधुनिक गीतको सङ्ग्रह ‘चुपचाप मन पराएँ’ एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । गीतकार प्रतीकको शुभ जन्मोत्सवको अवसर पारेर गीतकार संघ नेपालको आयोजनामा जमलस्थित राष्ट्रिय नाचघरमा सात वटा गीतहरू सङ्ग्रहित उक्त गीति सङ्ग्रह लोर्कापर्ण गरिएको हो ।
विशिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सभापति गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, तथा विशेष अतिथिहरू संघका निवर्तमान अध्यक्ष चुडामणि देवकोटा, साहित्यकार डा. नवराज लम्साल, गीतकार विश्व वल्लभ, गीतकार चिन्तामणि शिवाकोटी तथा गीतकार प्रतीकले संयुक्त रुपमा उक्त सङ्ग्रह लोकार्पण गर्नुभएको हो ।
बैंकिङ क्षेत्रमा क्रियाशिल रहँदा नै मुक्तक, कविता तथा गीत रचनामा रुची राख्नुका साथै डायरीका पानामा आफ्ना भावनाहरु सङ्ग्रहित गर्दै आएका गीतकार भट्टराईद्वारा रचना गरिएको गीतको पहिलो रेकर्डिङ २०७७ सालमा गरिएको थियो । लोकप्रिय गायक राजेशपायल राईले गीतकार भट्टराईको रचनाको पहिलो गीत ‘माया जोख्ने तुलो’ रेकर्ड गर्नुभएको थियो । उक्त गीतको लिरिकल भिडियो म्युजिक नेपालको यूट्युब च्यानलमा उपलब्ध छ । यो गीतमा किर्ति न्यौपानेको सङ्गीत छ ।
लोकार्पण गरिएको गीति सङ्ग्रह ’चुपचाप मन पराएँ’ मा लोकप्रिय गायक–गायिकाको स्वरमा रेकर्ड भएका सात वटा गीत समावेश गरिएका छन् । एल्बममा समावेश गीतमा राजेश पायल राई, प्रमोद खरेल, शिव परियार, प्रविण बेडुवाल, निशान भट्टराई, मेलिना राई तथा रचना रिमाल जस्ता लोकप्रिय गायक–गायिकाको स्वर छ ।
यी गीतहरूमा किर्ति न्यौपाने (दिवाकर शर्मा) द्वारा सङ्गीतबद्ध छ वटा गीतहरू समावेश गरिएका छन् भने एउटा गीतमा सरोज कोइरालाको सङ्गीत निर्देशन छ ।
एल्बममा समावेश गीतहरूलाई पुरुषोत्तम सुवेदी, विकास सुनार, राजु कार्की तथा बिनोद भुजेलको सङ्गीत संयोजन छ । यी गीतहरू प्रज्ञा स्टुडियो (रेकर्डिष्ट शम्भु तण्डुकार) तथा फाइन ट्यून (रेकर्डिष्ट पुष्कर खत्री) मा रेकर्ड गरिएका हुन् ।
एल्बममा समावेश गीतका भिडियोहरू पनि तयार पारिएका छन् । ती भिडियोहरूलाई नवल नेपाल, कृष्णदेव रुपाखेती, हेमप्रभास अधिकारी, बिनोद बम, ओमप्रकाश अवस्थीले निर्देशन गर्नुभएको छ ।
समारोहमा एल्बममा समावेश सात वटै गीतका म्युजिक भिडियोका अंशहरू प्रदर्शन गरिएको थियो ।
एल्बममा समावेश मदनकृष्ण श्रेष्ठको स्वरको ‘मायाँ रोपे माया फल्छ’ बोलको गीतको म्युजिक भिडियोमा मदनकृष्ण आफैँले अभिनय गर्नुभएको छ भने कृष्णदेव रुपाखेतीले यसलाई निर्देशन गर्नुभएको छ ।
सङ्ग्रहको शीर्षक गीत ‘चुपचाप मन पराएँ’ मा भने गायक प्रमोद खरेलको स्वर छ भने यसको भिडियोलाई ओमप्रकाश अवस्थीले निर्देशन गर्नुभएको छ । रोहित बस्नेत तथा एन्जेला बानियाले यो गीतको भिडियोमा अभिनय गर्नुभएको छ ।
‘ज्योतिषीले भनेको’ गीतमा निशान भट्टराई तथा मेलिना राईको स्वर तथा कृति न्यौपानेको सङ्गीत छ । बिनोद बमले यसको भिडियो निर्देशन गर्नुभएको छ । ‘समयले जुरायो’ गीतमा शिव परिवारको स्वर तथा सरोज कोइरालाको सङ्गीत छ । यो गीतको भिडियोलाई चलचित्र निर्देशक नवल नेपालले निर्देशन गर्नुभएको छ । ‘प्रेमको भाषा’ बोलको गीतमा कृति न्यौपानेको सङ्गीत तथा गायिका रचना रिमालको स्वर सुन्न सकिन्छ ।
