पश्चिमी वायु पुनः सक्रिय

काठमाडौं— १७, माघ ।

पश्चिमी वायु पुनः सक्रिय भएका कारण बिहीबार देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मंगलबारदेखि क्रमिक सुधार आएको थियो ।

बुधबार घाम लागेपनि अपराह्नपछि मौसम बद्लियो ।

बुधबार रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अहिले काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बदली छ । अपराह्नपछि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव बिहीबार रातिसम्म रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद मीनकुमार अर्यालले जानकारी दिए ।

‘गएरातिदेखि प्रवेश गरेको पश्चिमी वायु अहिले क्रमशः मध्य भेग हुँदै पूर्वतर्फ सर्दैछ । यसरी अघि बढ्दा यो प्रणाली कमजोर हुने भएकाले मौसममा सुधार आउँछ । आगामी शनिबारदेखि आंशिक बदली रहेपनि मौसममा राम्रै सुधार हुने देखिन्छ’–उनले भने ।

मौसमविद अर्यालकाअनुसार अहिले जे–जति मौसमी प्रणाली देखापर्छन्, ती पश्चिमबाटै हुन्छन् । विशेष अवस्थाबाहेक पश्चिमी वायुले नै हिउँदे वर्षा गराउँछ ।

जाडोयाम (विन्टर सिजन)को अन्तिम चरण रहेकाले पनि मौसमी गतिविधि हेरफेर भइरहन्छ । अझै एक महिना पश्चिमी वायुको गतिविधि देखापर्ने मौसमविदको भनाइ छ ।

‘डिसेम्बर, जनवरी र फेब्रुअरी’ विन्टर तथा ‘मार्च, अप्रिल र मे’लाई प्रि–मनसुन अवधि मानिन्छ ।

त्यसपछि वर्षायाम अर्थात् मनसुनी (दक्षिण पूर्वी हावाले गराउने) मौसमी प्रणाली अवधिमा अत्यधिक वर्षा हुन्छ ।

खासगरी प्रि–मनसुनका बेला अपराह्नपछि या साँझतिर मेघगर्जनसहित वर्षा हुने र हुरीबतास चल्ने गर्छ ।

यसैबीच, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर पश्चिमी वायुको प्रभावले देशको पश्चिम र मध्य क्षेत्रमा सामान्य बदली भइ पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वाका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै उच्च हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको हिमपातको सम्भावना औंल्याएको छ ।

राति देशका पश्चिमी भेगका थोरै स्थान र मध्य तथा पूर्वका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भेगमा हिमपात हुनेछ ।

शुक्रबार देशको पूर्वी क्षेत्र तथा पहाडी भेगमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ । पहाडी भेग र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातमा पनि पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ ।

शनिबार देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

काठमाडौं उपत्यकामा बिहीबार बिहानैदेखि बदली भएका कारण बढी चिसो महसुस गरिएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार बिहीबार काठमाडौंको न्यूनतम् तापक्रम ३.२ र अधिकतम् तापक्रम १८.५ डिग्री सेल्सियस छ । बुधबार काठमाडौंको न्यूनतम् तापक्रम घटेर १ डिग्रीमा झरेको थियो ।

बिहीबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम १ र अधिकतम् तापक्रम ११ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा बढी अधिकतम् तापक्रम विराटनगरको २५ तथा सिमरा र नेपालगन्जको समान २३ डिग्री सेल्सियस छ ।

(रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here