काठमाडौं — १५, माघ ।
युएई विरुद्धको एकदिवसीय क्रिकेट शृङ्खलामा जित हासिल गरेसँगै नेपाल एकदिवसीय क्रिकेट वरियता क्रममा प्रवेश गरेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले गएराति वरियताक्रम सार्वजनिक गर्दा नेपालले पहिलो पटक वरियता क्रममा स्थान बनाउन सफल भयो ।
आईसीसीले सार्वजनिक गरेको वरियताक्रममा नेपाल पुछारमा रहेको छ ।
आईसीसीको वरियता क्रममा नेपालको रेटिङ १५ छ भने १ सय ५२ अंक रहेको छ । एकदिवसीय वरियताको शीर्ष स्थानमा भने इङ्ल्याण्ड रहेको छ । उसको रेटिङ १२४ हुदा अंक भने ६,९३७ रहेको छ ।
आईसीसीको एकदिवसीय क्रिकेट वरियता क्रममा क्रमश भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो, दक्षिण अफ्रिका चौथो, पाकिस्तान पाँचौं, अष्ट्रेलिया छैटौं स्थानमा रहेका छन् ।
यस्तै, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान पनि शीर्ष १० भित्र अटाएका छन् ।
जिम्बावे ११औं स्थानमा रहदा आयरल्याण्ड १२औं, स्कटल्याण्ड १३औं, यूएई १४औं तथा नेपाल १५ औं स्थानमा रहेको छ ।
युएईविरुद्धको तेस्रो तथा अन्तिम खेलमा ४ विकेटको जित हासिल गर्दै नेपालले पहिलो पटक एकदिवसीय श्रृंखला जितेको छ ।