नेपालमा कोरोना संक्रमण पुनः बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नेपालमा थप ११६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो तथ्याङ्क पछिल्लो असोज यताकै सर्वाधिक हो। गत असोज १ गते नेपालमा कोरोना संक्रमितको संख्या १०८६ जना थियो। त्यसयता क्रमशः घटेको संक्रमण आइतबार हजारको आँकडा पार गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार पिसिआर परीक्षणबाट ८४१ र एन्टिजेन परीक्षणबाट ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आइतबार देशभर ६ हजार ७ सय ५५ जना कोरोनाका संक्रिय संक्रमित छन्।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुई जनाले ज्यान गुमाएका छन्। काठमाडौं उपत्यकामा आइतबार ६१५ जना नयाँ संक्रमित थपिएका छन्। त्यसमध्ये काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना थपिएका हुन्।