वरिष्ठ गायिका चन्द्रकला शाह पुरस्कृत भएकी छन् । मंगलबार राजधानीमा टिकागोपाल डिजिटल एम क्रियशनको आयोजनामा ‘कन्हैया सिंह परियार संगीत पुरस्कार २०७८’ अन्तर्गत वरिष्ठ गायिका शाह पुरस्कृत भएकी हुन् ।

उनलाई वरिष्ठ गायक सम्भुजीत बास्कोटा र कानून तथा संविधानविद् भिमार्जुन आचार्यले रु ५१ हजार नगदसहित सम्मानपत्र र दोसल्ला ओढाएर पुरस्कृत गरे । उक्त कार्यक्रममा गायिका शाहललाई पुरस्कृत गर्दै वरिष्ठ गायक बास्कोटाले ठूलो योगदान दिएका श्रष्टालाई राज्यर र संघ संस्थाले पनि सम्मान तथा पुरस्कृत गर्नुपर्ने बताए ।

साथै, उनले धेरै लामो समय रेडियो नेपालमा काम गरेकी शाहलाई बिना सम्मान र एक्कासी रेडियो नेपालले जागीरबाट हटाएकोमा दुःख व्यक्त गरे ।

‘कतिपय संस्थाहरुले थोरै समय काम गरेका आफ्ना कर्मचारीलाई सम्मानसहित बिदाई गरेको उदाहरणहरु छन्, झण्डै तीन दशक जति काम गर्नुभएकी चन्द्रकला दिदीलाई त्यती ठूलो संस्था सरकारी मिडिया रेडियो नेपालले बिना सम्मान एक्कासी जागीरबाट निकाल्दा दुःखको महसुस भएको छ’, गायक बास्कोटाले भने ।

दाङ जिल्लामा जन्मिएकी वरिष्ठ गायिका शाहलाई लुम्बिनी प्रदेश सरकारले पनि सम्मान गर्नुपर्ने बास्कोटाले बताए । त्यस्तै, कानून तथा संविधानविद् आचार्यले गायिका शाहको आवाज आफूले धेरै वर्ष अघिबाट सुन्दै आएको भन्दै कलाकार राज्यको एक हिस्सा भएको विचार व्यक्त गरे ।

उनले कला र सञ्चार क्षेत्रमा समेत ठूलो योगदान दिएकी गायिका शाहको राज्यले उच्च कदर तथा सम्मानजनक व्यवहार गर्नुपर्ने बताए । कार्यक्रमका आयोजक कन्हैया सिंह परियारले आफूलाई जन्म दिने बुवा र आमाको स्मरण गर्दै देशमा गीत संगीत र सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान दिएकी वरिष्ठ गायिका शाहको उच्च कदर गरी पुरस्कृत कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।

साथै, उनले श्रष्टाहरुको योगदानलाई आगामी दिनमा पनि कदर तथा सम्मान गर्दै जाने बताए । वरिष्ठ गायिका शाहले यसभन्दा अघि पनि आफूले केही पुरस्कार पाएको जानकारी दिँदै यस पछिल्लो पुरस्कारले पनि थप गौरव बढाएको बताइन् ।

उनले आफूले आगामी दिनमा संगीतसँग जोडिएको एक पुस्तक प्रकाशन गर्ने तयारी भइरहेको र यस कार्यक्रमको नगद रु ५१ हजार सोही पुस्तकमा लगाउने बबताइन् । साथै, गायिका शाहले आफूलाई सम्मान तथा पुरस्कृत गरेका विभिन्न संस्था र व्यक्तिको नाम उक्त पुस्तकमा उल्लेख गर्ने बताइन् ।

‘यस सम्मानले मलाई गर्व लागेको छ, एक संगीतसँग जोडिएको पुस्तक प्रकाशन गर्ने तयारीमा छु, आजको यस पुरस्कार पनि त्यही पुस्तकमा लगाएर सधैको लागि सबैको सम्झना गर्नेछु’, गायिका शाहले भनिन् । कार्यक्रमको व्यवस्थापन पावर इन्टरनेशनल मिडिया नेपालका अध्यक्ष माधवराज खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here