माघ—८, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पारित हुँदा अनसनरत डाक्टर गोविन्द केसीले उत्सव मनाउनु पर्ने बताएका छन्।
मंगलबार बिहान डा केसीले सांसदहरूलाई जनतामुखी ऐन बनाउन गरेको अनुरोधको जवाफमा सांसद भट्टराईले केसीको अनुरोधलाई स्वागत र सम्मान गर्ने बताएका हुन्।
‘चिकित्सा शिक्षा विधेयकलाई विद्यार्थी र जनतामुखी बनाउन भर्खरै यहाँले गर्नु भएको अपिललाई हार्दिक स्वागत र सम्मान गर्दछु । चिकित्सा शिक्षाको सुधारका लागि यस् अघि बनेका विभिन्न आयोग, समिति तथा कार्यदलका सुझाव, विभिन्न राजनीतिक दल तथा संघ/ संगठनका सुझाव र माननीय सदस्यहरुका संशोधन प्रस्ताव अनि तपाईंले गर्नुभएको आन्दोलनसमेतका आधारमा चिकित्सक शिक्षा विधेयक राष्ट्र, जनता र विद्यार्थीको हितमा रहेको कुरा यहाँलाई विश्वाश दिलाउन चाहन्छु,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कुनै कमीकमजोरी रहेमा यहाँ र यहाँजस्तै व्यक्तित्वको सुझावमा सुधार गर्दै जाने कुरामा ढुक्क रहनसमेत अनुरोध गर्दछु। चिकित्सक शिक्षा विधेयक संसदबाट पारित भैरहदा तपाईंको समेत ऐतिहासिक जितका रूपमा उत्सव मनाउन तपाईंलाई मेरो निवेदन छ।’
यसअघि मंगलबार बिहान एक भिडियो सार्वजनिक गर्दै डा केसीले प्रतिनिधि सभाका सदस्यलाई जनतामुखी ऐन बनाउन अनुरोध गरेका थिए।
‘चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत हुन लागेको जानकारी आएको छ। समितिबाट विधेयकमा जनतामुखी र विद्यार्थीमुखी व्यवस्था हटाएर माफियामुखी व्यवस्था राखिएको छ,’ केसीले भनेका छन्, ‘हामीसँग भएको सहमतिअनुसार माननीयज्यूहरूले जनतामुखी ऐन ल्याउनुहुनेछ भन्ने आशा राखेको छु र त्यसका लागि अनुरोध गर्दछु।’
चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभा बैठक अपरान्ह तीन बजे बस्दैछ।
(सेतोपाटी)