इंग्लिश प्रिमियर लिग अन्तर्गत शनिवार राति भएको खेलमा दुई उपाधि दावेदार मानिएका टोली चेल्सी र लिभरपुलले १-१ गोलको बराबरी खेलेका छन्।

लिभरपुलको घरेलु मैदान एन्फिल्डमा खेलिएको खेलमा १० खेलाडीमा सीमित चेल्सीले लिभरपुललाई बराबरीमा रोक्न सफल भएको हो। पहिलो हाफको २२औं मिनेटमा चेल्सीले कर्नरमार्फत गोल गर्दै अग्रता लिएको थियो।

चेल्सीका फरवार्ड काई हाभर्जले शानदार हेडर गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा चेल्सी १० खेलाडीमा सीमित भयो।

लिभरपुलका स्ट्राइकर साडियो मानेले प्रहार गरेको शटलाई चेल्सीका रक्षक रिस जेम्सले गोल लाइनमा हातले बचाउ गरेपछि लिभरपुललाई पेनाल्टी तथा जेम्सलाई रातो कार्ड प्रदान गरिएको थियो।

सो पेनाल्टीलाई लिभरपुलका स्टार खेलाडी मोहम्मद सालाहले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा पुर्याएका थिए। दोस्रो हाफमा लिभरपुलले निकै नै आक्रामक खेल प्रस्तुत गरेको थियो।

तर १० खेलाडीमा सीमित भएको चेल्सीले शानदार रक्षात्मक खेलको प्रदर्शन गर्न सफल भयो। चेल्सीका गोलरक्षक एडुवार्ड मेन्डीले दोस्रो हाफमा शानदार बचाउहरु गरेका थिए।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल बराबरीमा अन्त्य भएको हो। दुवै टोलीले तीन खेलमा सात अंक बटुलेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here