sandeep

माघ-८, काठमाडौं ।

बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग खेलिरहेका नेपाली युवा स्पीनर सन्दीप लामिछाने सोमबार नेपाल आएका छन् ।

अष्ट्रेलियामा जारी ‘बिग बास’का केही खेल खेलेर बंगलादेश गएका सन्दीप भोलिदेखि हुने नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् ।

बंगलादेशमा सिलेट सिक्सर्सबाट ‘बीपीएल’का ६ खेल खेलेर सन्दीप सोमबार अपराह्न काठमाडौं आइपुगेका हुन् । उनले सिलेटका लागि ६ खेलबाट ४ विकेट लिएका थिए ।

यही माघ ११ गतेदेखि नेपालले गर्ने युएई भ्रमणका लागि सन्दीप आएका हुन् ।

युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एकदिवसीय र तीन टी–२० सिरिज खेल्नेछ ।

नेपाली टोली मंगलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

एकदिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय हो । यसअघि, नेपालले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय गत अगस्टमा नेदरल्याड्ससँग खेलेको थियो । उक्त सिरिज बराबरीमा सकिएको थियो ।

१६ सदस्यीय टोली

युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ ।

उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् ।

उक्त प्रतियोगताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषावकर अस्वस्थ भएका कारण छनोट भएनन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।

नेपाली टोली मंगलबार युएर्ई प्रस्थान गर्नेछ । नेपालले युएईसँग माघ ११, १२ र १४ गते एकदिवसीय सिरिज तथा माघ १७, १८ र २० गते टी–२० सिरिज खेल्नेछ ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here