शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

साउन २० गतेदेखि विक्रीमा आएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको कम्पनीको  आईपीओ छिटो अवधिभित्र मात्र विक्रीमा रहने भएको हो ।  

कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको कुल रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो । सार्वजनिक निष्कासनमा आएको ५४ लाख कित्ता शेयर खरिदको लागि मात्र सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । 

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । आईपीओ विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाटसँगै मेरोशेयर सफ्टवेयर तथा एप मार्फत समेत यो आईपीओेमा आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । नयाँ जीवन बीमा कम्पनीको रुपमा २०७४ साल मंसिर २२ गतेदेखि व्यवसायिक यात्रा सुरु गरेको कम्पनीले रू. २ अर्ब बराबरको चुक्तापूँजी कायम गर्न आईपीओको सहारा लिएको हो । बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी रू. २ अर्ब हुनुपर्ने व्यवस्था गरेको छ । 

हाल रू. १ अर्ब ४० करोड चुक्तापूँजी रहेकोे कम्पनीको आईपीओ पश्चात कम्पनीको बीमा समितिले तोके बराबरको पूँजी कायम हुनेछ । जेठ ९ गते आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दर्ता गराएको कम्पनीले असार ३१ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको आर्थिक वर्ष २०७६÷७७ सम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ६७ रहेको छ । उक्त अवधिसम्म कम्पनीको सञ्चित नाफा रू. १० करोड ४८ लाख ६० हजार रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ६ दशमलव १० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *