शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय

फुटसल व्यवसायीको छाता सङ्गठन नेपाल फुटसल व्यवसायी सङ्घले फुटसल पुनःसञ्चालन गर्ने निर्णय गरेको छ।

कोरोना महामारीका कारण गत वैशाखदेखि बन्द रहेको फुटसल सञ्चालन गर्ने सङ्घले निर्णय गरेको हो।

सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ का कारण निषेधाज्ञा जारी भएसँगै बन्द गर्नुपरेको फुटसल खोल्ने निर्णय गरेको जानकारी गराएको हो।

सङ्घका अध्यक्ष राज महर्जन र महासचिव मदन कोइरालाले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा सावधानी अपनाई खेल सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयसमक्ष अनुमति मागे पनि नपाएको उल्लेख छ।

सानो समूहमा खेल सञ्चालन गर्ने, प्रतियोगिता नगर्ने, खेलाडीले सबै मापदण्ड अनिवार्य अपनाउने, साबुन पानीले हात धुने, शौचालयलगायत फुटसल सञ्चालन गरिएको क्षेत्रलाई कीटाणुरहित बनाउने, मास्क र स्यानिटाइजरको व्यवस्था गर्नेलगायत सङ्घले प्रतिबद्धता जनाएको छ।

जिल्ला प्रशासनले उदासिनता देखाएपछि बाध्य भएर सावधानी अपनाई फुटसल सञ्चालन गर्ने निणर्यमा सङ्घ पुगेको विज्ञप्तिमा उल्लेख छ।

सरकारले होटल, रेष्टुराँ, सार्वजनिक यातायातलगायत भिडभाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरे पनि समूहमा खेलिने खेलमा भने प्रतिबन्ध नै लगाएको छ। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *