काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १० दिन थप गरिएको छ । आइतबार बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप गर्ने निर्णय गरेको हो ।   

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट साउन ११ गतेदेखि लागू हुने गरी थप गरिएको आदेश अनुसार जारी निषेधाज्ञा साउन २० गते सम्म थप गरेको हो ।    

जिल्ला प्रशासन कार्यालय काठमाडौंद्धारा जारी गरिएको आदेशमा भनिएको छ– कोभिड–१९ महामारीको रोकथाम तथा नियनत्रण सम्बनधमा नेपाल सरकार (मन्त्रीपरिषद्)को निर्णय, कोभिड १९ संकट व्यवस्थापन अध्यादेश  २०७८ को दफा ३ र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरि यस जिल्लामा मिती २०७८/०४/११ गतेबाट २०७८/०४/२० गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । 

थप १० दिनको निषेधाज्ञामा कुनै पनि प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब लगायत मानिसहरू भिडभाड हुने कार्यक्रमहरू सञ्चालन गराउन पाइने छैन। साथै, खुला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज गर्न नपाइने प्रशासनले जनाएको छ। 

शैक्षिक संस्थाहरू पनि अहिले भौतिक उपस्थितिमा पठनपाठन गर्न अनुमति दिइएको छैन। स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन। औषधि तथा स्वास्थ्य सामाग्रीका पसलहरू बाहेक अरू पसल तथा व्यवसायहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन्। रेष्टुरेन्ट तथा फास्ट फुड, अनलाइन अर्डर र टेक अवेका सेवाहरू पनि साँझ ७ बजेसम्ममात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।  

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि आइतबार राति १२ पछि सकिँदैछ । उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो । 

यस्तो छ काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here