आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

देशका अधिकांश भागमा मनसुनी वायुको प्रभावले वर्षा

मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखा रहेकाले हाल देशका अधिकांश भू–भागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज विहानैदेखि हल्का वर्षा भइरहेको छ ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनुका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भोलि आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आगामी असार १४ गते सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । रातिको समयमा प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *