पूर्वपश्चिम राजमार्गमा पर्ने पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि अन्य ४९ जना घाइते भएका प्रहरीले जनाएको छ।
आज बिहान करिब साढे पाँच बजे बर्दघाट नगरपालिका ४स्थित दाउन्ने सडकखण्डको बाँस खोलामा ना ५ ख २७१३ नम्बरको बस दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार दुर्घटनामा परेको बस काठमाडौंबाट रुकुम पश्चिम जाँदै थियो। बसमा ५८ जना सवार थिए।
दुर्घटनामा ४ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरिक्षक राजु लामाले जानकारी दिए। ज्यान गुमाउने रुकुम पश्चिमको त्रिवेणीकी २७ वर्षीया कल्पना पुन र रुकुम पूर्व सिस्ने गाउँपालिका घर भएका ३६ वर्षीय धनराज घर्तीको मात्र सनाखत भएको छ। बाँकी दुई जनाको सनाखत हुन सकेको छैन।
दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि बुटवल लगिएको छ भने सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुलेको छैन।
