शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

बनेपा आजदेखि ‘शिल’, मर्निङवाक समेत बन्द

जिल्लामा अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिकामा आज (मंगलबार) रातिदेखि ‘शिल’ गरिने भएको छ । स्थानीय जनप्रतिनिधिलगायत कोभिड महामारी व्यवस्थापनमा सरोकारवालासँगको सोमबारको बैठकले आज राति १२ बजेदेखि नगर शिल गर्ने निर्णय गरेको हो ।

कारोना संक्रमणको दोस्रो लहर तीव्र रूपमा बढेपछि सम्पूर्ण नगर क्षेत्र हाललाई एक हप्ताका लागि सिल गर्नुपरेको नगर प्रमुख लक्ष्मीनरसिंह वादेले बताए । उनका अनुसार आज राति १२ बजेदेखि जेठ १२ गते राति १२ बजेसम्म नगर क्षेत्र शिल गर्ने निर्णय गरिएको हो । ‘औषधि पसल र अस्पताल बाहेकका अन्य खाद्यान्न, तरकारी र दुग्धजन्य पसल तथा फलफूल, बैंक, वित्तीय संस्थाका सेवा बन्द गर्नुका साथै मर्निङवाकमा समेत प्रतिबन्ध लगाइएको छ’, वादेले भने ।

नगरद्वारा जारी अपिलमा फोहरमैला व्यवस्थापन, टेलिफोन, इन्टरनेट र विद्युत् सेवाप्रदायक निकायले न्यूनतम कर्मचारीमार्फत स्वास्थ्यका आधारभूत मापदण्ड अपनाएर सेवा प्रवाह गर्न प्रबन्ध मिलाउने समेत उल्लेख गरिएको छ । साथै, सूचना विभागबाट जारी प्रेस पासवाहक सञ्चारकर्मी बाहेक नगरका अन्य व्यक्तिले अत्यावश्यक काममा मात्रै स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाहिर निस्कन पाइनेछ । जिल्ला प्रशासन कार्यालयले पनि आइतबारदेखि एक साता जिल्लामा निषेधाज्ञा थप गरेको थियो ।

कोरोना संक्रमणको दोस्रो लहरमा नगरमा हाल जिल्लामा रहेका कुल कोरोना संक्रमितमध्ये बनेपामा ३५.४ प्रतिशत अर्थात् ६९७ मा संक्रमण भएको छ । नगरमा हालसम्म १० जनाको मृत्यु भएको छ । पछिल्ला केही दिनदेखि काभ्रेपलाञ्चोकमा दैनिक डेढ सयभन्दा बढीको संख्यामा संक्रमित थपिन थालेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा १७८, अघिल्लो दिन १९८ तथा शुक्रबार १५१ मा कोरोना संक्रमण पुष्टि भयो । दैनिक ३० को हाराहारीमा कोरोना संक्रमणमुक्त हुने गरेका छन् भने सरदर दैनिक दुईको मृत्यु हने गरेको तथ्यांकले देखाएको छ ।
जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी) का अनुसार हाल कोरोना संक्रमणको दोस्रो लहर सुरु भएयता जिल्लामा एक हजार ९८९ सक्रिय संक्रमित रहेका छन् ।

संक्रमितमध्ये धुलिखेलमा ४१४, पनौतीमा ३९९, पाँचखालमा १२४, नमोबुद्धमा ८१, मण्डनदेउपुरमा ११० तथा रोशी गाउँपालिकामा ३५, चौंरीदेउरालीमा २६, तेमालमा ३०, भुम्लुमा ३०, खानीखोलामा २२, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा १६ सक्रिय संक्रमित रहेका छन् । कुल संक्रमितमध्ये ९४ प्रतिशत अर्थात् एक हजार ८९१ संक्रमित होम आइसोलेसनमा छन् । हालसम्म जिल्लाका ८५ कोरोना संक्रमितको मृत्यु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *