काठमाडौँ, माघ— २ ।

थाइल्याण्डमा जारी महिला टी–२० महिला क्रिकेट प्रतियोगितामा नेपाल लगातार चार खेल जितेर समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले आयोजक थाइल्याण्डलाई ९ विकेटले पराजित गर्दै विजयी भएको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले अल आउट हुनुपूर्व १५ ओभर ४ बलमा १९ रन मात्र बनाउन सक्यो ।

थाइल्याण्डले दिएको २० रनको सामान्य लक्ष्य नेपालले एक विकेट गुमाएर ३.३ ओभरमा पूरा गर्‍यो ।

थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालका आरती विडारीले ३, इन्दु बर्मा र सरिता मगरले समान २-२ विकेट तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक/एक विकेट लिए ।

आयोजक थाइल्याण्डका लागि तान्चानोक फोप्लुकले सर्वाधिक चार रन बनाइन् । नेपालले अतिरिक्त सात रन दिएको थियो भने थाइल्याण्डका पाँच खेलाडी शून्यमा आउट भएका थिए ।

नेपाली ओपनर ममता चौधरीले सर्वाधिक ८ रन बनाइन् भने नेरी थापाले ५ र डोली भट्टले २ रन जोडे ।

नेपालको यो लगातार चौथो जित हो । नेपालले पहिलो खेलमा चीनलाई, दोस्रो खेलमा मलेशियालाई र तेस्रो खेलमा यूएइलाई पराजित गरेको थियो । आजको जितसँगै नेपाल समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ ।

राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेल्दै छ । यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसी टि–२० विश्वकपको एशिया क्षेत्रको क्वालिफायर खेलेको थियो ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here