शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशत वृद्धि,सोही अनुसार उच्च मूल्यवृद्धिको संकेत

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्ने क्रम जारी छ । आइतबार अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेर प्रतिब्यारेल आज (मार्च) ६९.२२ डलर पुगेको छ । १५ दिन अगाडि यस्तो मूल्य ६२.४६ डलर थियो । यो अवधिमा मात्रै मूल्यमा करिब १० प्रतिशत वृद्धि भएको देखिएको हो ।

नेपालमा पछिल्लोपटक फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य समायोजना भएको थियो । १५/१५ दिनमा मूल्य बढाउने व्यवस्था अनुसार मंगलबार भारतीय आयल कर्पोरेसनले नयाँ मूल्यसूची पठाउँछ । सोही सूचीलाई आधार बनाएर नेपाल आयल निगमले नयाँ मूल्य तोक्ने गर्छ । 

अघिल्लोपटक मूल्य निर्धारण गर्दा आयल निगमलाई पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजेलमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्यासमा प्रति सिलिन्डर २ सय ९५ रुपैयाँ ८३ पैसा नोक्सान रहेको थियो । यो नोक्सानका कारण निगम १५ दिनमा १ अर्ब ३२ करोड नोक्सानमा जाने प्रक्षेपण गरिएको थियो । 

यद्यपि स्वचालित मूल्य प्रणाली अनुसार मूल्य निर्धारण गर्दा १५ दिनमा पेट्रोल, डिजेल, मट्टितेलमा २ रुपैयाँ र एलपी ग्यासमा २५ रुपैयाँ भन्दा बढी मूल्य बढाउन पाइँदैन । अन्तराष्ट्रिय बजारमा १० प्रतिशत मूल्य बढाइएको अवस्थामा यो प्रणाली अनुसार मूल्य बढाउने हो भने घाटा झनै बढ्ने निगमले जनाएको छ । 

उच्च मूल्यवृद्धिको संकेत

सरकारदेखि नेपाल आयल निगमसम्मले एकैचोटी ठूलो मूल्यवृद्धि हुनसक्ने संकेत गरिसकेका छन् । अघिल्लो साता आयल निगमको कार्यक्रममा उद्योगमन्त्री लेखराज भट्टले मूल्य बढाएरै भए पनि निगम घाटामा जान नहुने भन्दै उच्च मूल्यवृद्धि गर्न निगम सञ्चालक समितिलाई अनुमति दिने संकेत गरेका थिए । 

उता निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले पनि पेट्रोलियम पदार्थको मूल्य निर्धारणमा निगमको कुनै पनि भूमिका नरहने भन्दै निगम घाटामा जान नहुने बताएका थिए । उनले अन्तर्राष्ट्रिय बजार अनुसार निगमले मूल्य बढाउनुपर्ने भन्दै घाटा धान्नसक्ने अवस्था नभएको भन्दै सोही अनुसार मूल्य निर्धारण हुनसक्ने सकेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *