रामबहादुर बम्जन

काठमाडौं, पुस- २७ ।
बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे, धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।

उनले हेटौंडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताए ।

प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताएपनि अन्य जानकारी भने दिएको छैन ।

यसैबीच, सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ ।

उक्त टोलीले बुधबार बेलुका आश्रममा विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप, भीरपानी घर भएका २० वर्षीया सोनाम मोक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग सोधपुछपछि स्थलगत अवलोकन गरेको थियो ।

रामबहादुर बम्जनको सिन्धुलीको पैरे, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमामात्र आश्रम रहेको उनका अनुयायीले बताएका थिए ।

सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो ।

‘गुरु’ बन्द प्रशिक्षणमा रहेकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए ।

हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोक, बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली आवश्यक थप अनुसन्धान गर्न हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो ।

बम्जन आश्रमबाट हराएका व्यक्तिका आफन्तले उजुरी दिएपछि प्रहरी टोली अनुसन्धानमा केन्द्रित बनेको छ ।

सिन्धुपाल्चोकबाट आएको टोलीले आवश्यक अनुसन्धान गरेपनि कुनैपनि जानकारी दिएको छैन ।

बम्जन आश्रममा पुगेका प्रहरी नायव उपरीक्षक कँडेलले आवश्यक अनुसन्धान भइरहेको र यसबारे अहिले नै केही कुरा खुलासा गर्न नमिल्ने बताए ।

‘हामी चरणबद्ध अनुसन्धानका लागि सामान्य सोधपुछ गरिरहेका छौं’–उनले भने ।
रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here