न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको दोस्रो टी ट्वान्टी खेल पनि जितेको छ ।

पहिलो टी ट्वान्टीमा ५३ रनको जित हात पारेको न्युजिल्याण्डले दोस्रो टी ट्वान्टीमा चार रनको जित हात पारेको छ । दोस्रो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले पाँच खेलको टी ट्वान्टीमा २–० को अग्रता लिएको छ ।

न्युजिल्याण्डले प्रस्तुत गरेको २२० रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले जित नजिक पुगेपनि लक्ष्य प्राप्त गर्न सकेन । पाहुना टोलि पुरै २० ओभर खेलेर आठ विकेटको क्षतिमा २१५ रन तयार गर्यो ।

अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले सर्वाधिक ७८ रनको योगदान दिए । उनले मात्र ३७ बलमा सात चौका र पाँच छक्का प्रहार गरे। डेनियल साम्सले १५ बलमा दुई चौका र चार छक्काको सहयोगमा ४१ रनको योगदान गरेर पेभेलियन फर्किनुअघि अष्ट्रेलियाले एक ओभरमा जितका लागि १५ रन आवश्यक थियो । तर अन्तिम ओभरमै मार्कस स्टोइनिस समेत पेभेलियन फर्किदा अष्ट्रेलिया लक्ष्यभन्दा पाँच रन पछाडि रहनुपर्यो । जोश फिलिपले ४५ रनको योगदान दिए ।

न्युजिल्याण्डका लागि मिसेल शान्टनरले सर्वाधिक चार विकेट लिए। जेम्स निशमले दुई तथा इश सोढी र टिम साउदीले सामान एक एक विकेट लिए ।

त्यसअघि, ड्युनेडिनमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलिले २० रनमै विकेटकीपर ब्याट्सम्यान टिम सैफर्टको विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अर्का ओपनर मार्टिन गुप्टिलले दोस्रो विकेटका लागि कप्तान केन विलियम्सनसँग १३१ रनको साझेदारी गर्दा न्युजिल्याण्डको पारी उकासिएको थियो ।

गुप्टिलले ५० बलको सामना गर्दै छ चौका र आठ छक्काको सहयोगमा सर्वाधिक ९७ रन बनाउनुभयो । विलियम्सले ५३ रनको योगदान दिदा जेम्स निशमले ४५ रन बनाएर अविजित रहे । घरेलु टोलिले पुरै २० ओभर खेलेर सात विकेटको क्षतिमा २१९ रन जोड्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here