काठमाडौं, पुस- २६ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले भोलि (शुक्रवार) देखि ६ दिने भारत भ्रमण गर्ने भएका छन् ।
प्रधानसेनापति पदमा नियुक्त भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थल सेनाध्यक्ष जनरल विपीन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
भ्रमणकाक्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट पुस २८ गते सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ ।
दुवै देशका सेना प्रमुखलाई कदरस्वरुप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ ।
प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
साथै, उनले सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट गर्नेछन् ।
सेना प्रवक्ता ढकालद्वारा कार्यभार ग्रहण
नेपाली सेनाको प्रवक्ता एवं जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक पद सहायक रथी यामप्रसाद ढकालले सम्हालेका छन् ।
यसअघिका प्रवक्ता एवं निर्देशक सहायक रथी गोकुल भण्डारीले बिहीबार एक कार्यक्रमकाबीच सहायक रथी ढकाललाई कार्यभार हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सहायक रथी ढकालको कार्यकालमा नेपाली सेना र आमसन्चार जगत्बीचको सम्बन्ध अझ थप प्रगाढ एवं सुमधुर हुनुको साथै आमसन्चार जगतको सहयोग यथावत् रहिरहने विश्वास नेपाली सेनाले लिएको विज्ञप्तिमा जनाइएको छ ।
रासस