काठमाडौंस्थित तारकेश्वर नगरपालिका–१ साङ्लामा फेरि बर्डफ्लू भेटिएको छ । यही फागुन १३ गते बिहीवार साङ्लास्थित पाँच वटा व्यावसायिक फार्ममा बर्डफ्लू पुष्टि भएको हो ।
बर्डफ्लू पुष्टि भएसँगै सो स्थान र वरपरका लेयर्स, बोइलर र लोकल गरेर १५ हजार ३५७ कुखुरा, चल्ला लगायत घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु जस्तै अण्डा, दाना आदि नष्ट गरिएको छ ।
त्यस्तै फार्म वरपर स्वास्थ्य सुरक्षाको उपाय अपनाउन, घरपालुवा पशुपन्छीलाई बाहृय पशुपन्छीको सम्पर्कमा आउन नदिन, अस्वभाविक रुपमा पन्छी बिरामी परे वा मरे तत्काल नजिकैको पशु सेवा निकायमा खबर गर्न विभागले किसान एवम् व्यवसायीलाई आग्रह गरेको छ ।
झण्डै एक महिनाअघि तारकेश्वर नगरपालिका–१ मै बर्डफ्लू भेटिएको थियो । तर, हाँसमा मात्रै । त्यसवेला पनि संक्रमण भेटिएको क्षेत्रका करिब २३ सय घरपालुवा पन्छी र तीसँग सम्बन्धित वस्तु नष्ट गरिएको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा विभागले प्रेस विज्ञप्ति जारी गर्दै सो जानकारी दिएको थियो । विज्ञप्तिमा रोग देखिएको क्षेत्रलाई पूर्णरुपमा ‘निसंक्रमण’ पारेर रोग नियन्त्रणमा लिएको जनाइएतापनि त्यसो नभएको कुरा हालै बर्डफ्लू पुष्टि हुनुले जनाएको छ ।
हरेक चोटी बर्डफ्लूको संक्रमण भेटिएपछि प्राय एउटै प्रश्न उठ्ने गर्दछ । कुखुरा वा पन्छीजन्य मासु खाने कि नखाने ?
चिकित्सकले बर्डफ्लूबाट संक्रमित पन्छीको मासु निर्धक्क खान मिल्ने बताएका छन् । तर, राम्ररी पकाएर मात्र । चिकित्सक भन्छन्, ‘बर्ड फ्लू लाग्दा मासु खान डराउनु पर्दैन ।’ अहिलेसम्म मासु खाएर यस रोगको संक्रमण भएको पुष्टि नभएकाले पनि कुखुरा अथवा पन्छीहरुको मासु खाँदा रोगको जोखिम नभएको चिकित्सकहरु सुझाउँछन् ।
विश्व स्वास्थ्य संगठनले पनि राम्रोसँग पकाएर खाँदा बर्डफ्लू भाइरस नष्ट हुने हुँदा कुखुरा वा अन्य पशुपन्छीको मासु खानु सुरक्षित भएको बताएको छ ।