शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

बिरामी बोकेको जीप दुर्घटना

बेनी नगरपालिका–४ फापरखेतमा बिहीवार राती भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग १ ज ६७८८ नम्बरको जीप सडकबाट म्याग्दी नदीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक श्यामकुमार राइले मालिका–३ का ६२ वर्षीय गोबिन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजादैँ गरेको जीप दुर्घटना भएको हो। घाइते चालक मालिका–१ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ।

यसैगरी मालिका–३ पात्लेका २९ वर्षीय रबिन्द्र रोका, २० वर्षीय रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ। चालक बाहेक मृतक र घाइते एकै परिवारका सदस्य हुन्।

तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्वार गरेका थिए। दुर्घटनाको कारणबारे भने अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक राइले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *