काठमाडौं । सरकारले फेवातालको क्षेत्रफल नाप्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फेवातालको गहिराई, लम्बाई र चौडाईलगायतका क्षेत्रफल नाप्ने निर्णय गरेको महिला बालबालिका तथा जेष्ठ नागरि मन्त्री जुलीकुमारी महतोले जानकारी दिइन् ।
नेपालमा २०३२ देखि मात्र नापी सुरु भएको हो । त्यसअघि २०१४ मा भारतीय सेनाले नेपालको सर्भे गरेर दुईवर्षपछि सरकारलाई विवरण बुझाएको थियो ।
भारतीय सेनाको सर्भेमा समेत फेवाताल देखिएको थियो । तर, त्यसले क्षेत्रफल यकिन गरेको थिएन । मालपोत कार्यालयको फिल्डबुकमा समेत फेवातालको नाममा यति नै जग्गा छ भनेर उल्लेख छैन ।
फेवातालको नाममा जग्गा रहेको भनिएपनि क्षेत्रफल, चारकिल्ला सिमाना तोकिएको छैन । २०३१ जेठ २० गते तयार पारिएको फिल्डबुकमा फेवातालको नाममा जग्गा रहेपनि क्षेत्रफल कति भनेर उल्लेख गरिएको छैन । विभिन्न अध्ययन प्रतिवेदनका आधारमा फेवातालको क्षेत्रफल तोक्दै आइएको थियो ।
तालको क्षेत्रफल २०१८ सालमा १० वर्गकिलोमिटर थियो । त्यही क्षेत्रफल २०३१ सालमा ६, २०३८ मा ५.८ र २०६९ सालमा ५.०६ वर्गकिलोमिटर (पानीको मात्रा) उल्लेख थियो ।
२०१७ सालमा फेवातालमा बाँध बाध्न थालियो । बाँध २०१९ मा पुरा भयो । त्यसपछि तालले स्वरुप लिईरहेकोमा २०३१ मा बाँध भत्कियो । बाँध भत्केर तालको पानी घटेको मौका पारेर केहीले कमाई गर्न थाले ।
त्यो बेला कमाई गरेको आधारमा जग्गा दर्ता हुने चलन थियो । ताल सुकेको मौका पारेर २०३३ सम्म केहीले तालको जग्गा व्यक्तिको नाममा दर्ता गरेको भएपनि धेरैले २०३२ मा गरेका थिए । २०३५ सालमा पुन बाँध बनेपछि तालले पुरानै रुप लिएको हो ।
